मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Tuesday, 17 December, 2024
२o७९ फाल्गुण १४ आइतबार १o:३८:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १o:३८:oo

बच्चालाई ज्वरो आउनेबित्तिकै अभिभावक डराउने र आत्तिएर अस्पताल दौडिने गरेको पाइन्छ । तर, कुन अवस्थामा अस्पताल जाने र कुन अवस्थामा नजाने भनेर जान्न आवश्यक छ । खासगरी, बालबालिका भाइरल ज्वरोबाट धेरै नै प्रभावित हुने गर्छन् ।

उनीहरूमा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, टाइफाइड, जन्डिस, निमोनिया आदि विभिन्न रोगको संक्रमण हुने गर्छ । भाइरसबाट हुने रुघाखोकी एक व्यक्तिबाट अर्कोमा एकदमै छिटो सर्ने गर्छ । घरमा कसैमा रुघाखोकी लागेमा बच्चाहरू छिटै प्रभावित हुने गर्छन्, जसले गर्दा ज्वरो आउन सक्छ । ज्वरो आउँदा केही सतर्कताका विधिहरू अपनाएर सुरक्षित हुन सकिन्छ । 

 

  • घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्नुपर्छ । ज्वरो आएमा तत्काल पारासिटामोल खुवाउन सकिन्छ ।
  •  बच्चालाई गुम्स्याएर राख्नुहुँदैन । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउनुपर्छ । 
  • बच्चालाई १०२, १०३ सम्म ज्वरो आयो भने पानीपट्टी लगाएर ज्वरो घटाउन सकिन्छ । यति गर्दा पनि ज्वरो कम भएन भने अस्पताल लैजानुपर्छ ।
  • कतिपय बच्चा धेरै ज्वरो आउँदा फेन्ट हुने सम्भावना हुन्छ । ६ महिनादेखि ५ वर्षसम्मका बच्चालाई ब्राइल सिजर आउँछ । 
  • ज्वरोमा तापक्रम ९९ भन्दा कम छ भने आत्तिनुपर्दैन । तर, धेरै ज्वरो आइरह्यो भने जतिसक्दो चाँडो नजिकैको अस्पतालमा लैजानुपर्छ ।
  • बच्चाले पानी कम पिउँछन् । पर्याप्त पानी पिउन लगाउनुपर्छ ।
  • पारासिटामोल सिरप खुवाएर पनि ज्वरो घटाउन सकिन्छ । नत्र ज्वरोको कारण पत्ता लगाएर मात्रै अरू औषधि दिइन्छ ।
  • आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ । यस्तो वेला होसियार हुनुपर्छ । 
  • बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन सक्छ । त्यसैले बच्चालाई ज्वरो आएको वेलामा देब्रेतिर फर्काएर सुताउनुपर्छ । 
  • मनतातो पानी वा चिसो पानीमा नरम कपडा भिजाएर टाउको र पाइतालामा राखिदिनुपर्छ । यसो गर्दा तापक्रम घट्छ ।
  • शिशुलाई आमाको दूध प्रशस्तै खुवाउनुपर्छ । अन्य बालबालिकालाई पनि झोलिलो खानेकुरा खुवाउँदा ज्वरो कम हुँदै जान्छ । 
  • ज्वरोसँगै बच्चालाई बान्ता र पखाला लागेको छ भने त्यस्तो वेला जबर्जस्ती खाना खुवाउनु हुँदैन । झोलिलो कुरा र पानी पिउन दिनुपर्छ ।
  • चिसो खानेकुरा खुवाउनु हुँदैन । जंकफुड दिनुहुँदैन ।
  • घरमै बनाएको फलफूलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छ । अरू नर्मल खानेकुरा खुवाउँदा हुन्छ । 

अस्पतालमा गरिने उपचार
बालबालिकालाई सामान्यतः पहिलो २४ घन्टा निगरानीमा राखेर हेर्नुपर्ने हुन्छ । कतिपय बालबालिकामा सामान्य ज्वरो वा भाइरल संक्रमण भइरहेको हुन्छ । कतिपयमा काम्ने वा बेहोस हुने अवस्था पनि आउँछ । त्यसैले बच्चा काम्न छाडे पनि निको भयो भनेर ढुक्क हुनुहुँदैन । एकपटक चिकित्सकलाई देखाउनु राम्रो हुन्छ । कुनै गम्भीर समस्याका कारण ज्वरो आएको हो वा सामान्य ज्वरो हो भनेर चिकित्सकले मात्र निक्र्योल गर्न सक्छन् । समस्या देखिएमा चिकित्सकले रगत परीक्षण, रगतको कल्चर, पिसाबको परीक्षण र छातीको एक्स–रेलगायत परीक्षण गर्ने सल्लाह दिन सक्छन् ।