मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ फाल्गुण १४ आइतबार ०९:०६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बिजुलीको तार भूमिगतमा लापरबाही : खानेपानीको पाइपसँगै राखियो बिजुलीको तार

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ फाल्गुण १४ आइतबार ०९:०६:००

नेपाल विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले खतरा निम्त्याउने गरी बिजुलीको तार र खानेपानीको पाइप एकै ठाउँ राखेको पाइएको छ । बिजुलीको तार भूमिगत र खानेपानीको पाइप बिछ्याउने क्रममा एउटै पाइपलाइनमा तार र पाइप राखेका हुन् । 

प्राधिकरण र पिआइडीले तार भूमिगत गर्दा टेकु, कालीमाटी र बल्खु क्षेत्रमा सँगसँगै गाडेको छ । पहिले मेलम्चीले खानेपानीको पाइप गाडिसकेको थियो । त्यही पाइपलाइन खनेर प्राधिकरणले बिजुलीको तार राखेको हो । तर, खानेपानीको पाइप र बिजुलीको तार यसरी एकै ठाउँ राख्न मिल्दैन । विद्युत्को तार सर्ट हुने, आगलागी हुनेलगायत खतरा निम्तन सक्छ । तर, विनासमन्वय काम गर्दा यी निकायले खानेपानी पाइप र बिजुलीको तार एकै ठाउँ राखेको डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख मुकुन्द अधिकारीले बताए । उनका अनुसार तार र पाइप सँगै राख्नै हुँदैन, यिनको बीचमा कम्तीमा आधा मिटर दूरी कायम हुनुपर्छ  । 

‘बिजुली र खानेपानी सँगसँगै राख्नुहुँदैन, यिनको बीचमा ग्याप हुनुपर्छ,’ उनले भने, ‘तर टेकु, कालीमाटी, बल्खु क्षेत्रमा त्यस्ता गल्ती छन्, यसलाई नसच्याए भविष्यमा जोखिम निम्तन सक्छ ।’ उनका अनुसार तार भूमिगत गर्दा यस्तो नियम संसारभरि नै अपनाइन्छ । एउटै पाइपलाइनमा राखे पनि बीचमा माटो वा अन्य वस्तु राखेर एक–अर्कालाई अलग–अलग गर्नुपर्छ । खानेपानीको पाइप फुट्दा बिजुलीको तार भिज्नुहुँदैन । यसो भयो भने बिजुली सर्ट हुने, आगलागी हुने, ट्रान्समिटर पड्किनेलगायत समस्या हुन्छ । कहिलेकाहीँ पानी लिकेज भएको ठाउँमा बिजुली सर्ट भएर सडक प्रयोगकर्तालाई करेन्ट लाग्ने डर हुन सक्छ ।

डिभिजन प्रमुख अधिकारीका अनुसार तार र खानेपानी पाइप दायाँ–बायाँ वा तल–माथि राख्दा तिनीहरूबीचको ग्यापमा ध्यान दिनुपर्छ । एक–अर्कालाई छुनुहुँदैन । सकेसम्म बीचमा माटो हुनुपर्छ । तर, प्राधिकरणले मेलम्चीले खनेको पाइपलाइनमै तार राखेपछि त्यसले समस्या निम्याउने देखिएको छ । यसअघि पिआइडीले त्यस क्षेत्रमा खानेपानीको पाइप एक वषअघि नै बिछ्याएको थियो । तर, नेपाल विद्युत् प्राधिकरणले केही समयअघि तार भूमिगत गर्दा त्यही पाइपलाइन कोट्याएर खानेपानीको पाइपसँगै राखिदिएको छ ।

 खानेपानीको पाइपभन्दा माथि बिजुलीको तार वा पाइप राख्दा भोलि खानेपानी मर्मत गर्नुप¥यो भने झन्झट हुने भएकाले पनि दायाँ–बायाँ राख्दा उचित हुने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका इन्जिनियर विजय जैसीले बताए । उनले तल–माथि राख्दा भोलि दुवै निकायलाई आफ्नो काममा समस्या आयो भने मर्मत गर्नसमेत समस्या हुने भन्दै पहिले नै सचेत हुनुपर्ने जानकारी दिए । ‘केही ठाउँमा यस्तो समस्या भएको सुनिएको छ, तर यसबारे पहिले नै समन्वय हुनुपथ्र्याे,’ उनले भने, ‘प्राधिकरणले केही मुख्य ठाउँमा तार भूमिगत गरिसकेको छ, तर कसरी गरेको छ, अन्य निकायलाई थाहा छैन । यदि खानेपानीको पाइपसँगै राखिएको छ भने त्यो ठूलो त्रुटि र खतरा हो ।’ उनले जहाँ–जहाँ त्यस्तो कमजोरी भएको छ, तुरुन्त सच्याउनुपर्ने बताए । 

हालसम्म नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क, त्रिपुरेश्वर, बागमती करिडोर, लैनचौर, महाराजगन्ज क्षेत्रमा बिजुलीको तार भूमिगत गरिसकेको छ । त्यस्तै, उपत्यकाका अन्य सात स्थानमा तार भूमिगतको काम भइरहेको छ । तर, त्यहाँ खानेपानीको पाइप र बिजुलीको तार कसरी राखिएको छ भन्नेबारे पिआइडीले अनुगमन गरेको छैन । 

नेपाल विद्युत् प्राधिकरणका सिइओ कुलमान घिसिङले समन्वय नहुँदा कतै–कतै त्रुटि भएको स्विकारे । ‘यसबारे प्राविधिक टोलीसँग छलफल र सहकार्य हुनुपथ्र्याे, तर छलफल र समन्वय भएन,’ उनले भने, ‘जहाँ–जहाँ हामीले गल्ती गरेका छौँ, त्यसलाई सच्याउँछौँ ।’ उनका अनुसार सडकमा दुई ठाउँ खन्दा सबैतिर भत्कने भन्दै पुरानै पाइपलाइनमा खनेर तार र खानेपानीबीच ग्याप हुने गरी बिजुलीको तार भूमिगत गरिने बताए ।