मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
झापाको दमक– ६ स्थित मुख्य बजार क्षेत्रमा भएको आगलागी ।तस्बिर : चिरञ्जीवी घिमिरे / झापा
यम बम काठमाडौं
२०७९ फाल्गुण ९ मंगलबार ०७:४५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देशभर बढ्न थाले आगलागी र डढेलोका घटना : तीन महिनामा एक हजार ३४ ठाउँमा आगलागी, ४९ जनाको मृत्यु

Read Time : > 2 मिनेट
यम बम, काठमाडौं
२०७९ फाल्गुण ९ मंगलबार ०७:४५:००

गर्मी नलाग्दै मुलुकभर आगलागी र डढेलाका घटना बढ्न थालेका छन् । हिउँदयाम सुक्खा हुँदा यस वर्ष आगलागीका घटनामा बढोत्तरी आएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक हेर्दा सवा तीन महिना (मंसिरदेखि फागुन पहिलो साता)सम्म मात्र देशभर एक हजार ३४ ठाउँमा आगलागीका घटना भएका छन् । यी घटनामा ४९ जनाले ज्यान गुमाएका छन् । १३० जना घाइते भएका छन् । आगलागीबाट एक हजार १८८ वटा घर प्रभावित भएका छन् । 

१३९ घरमा आंशिक क्षति हुँदा २२१ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । दुई सय ३३ गोठ जलेका छन् । यस अवधिमा ८८ करोड ९६ लाखबराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण छ ।आगलागीबाट धनुषामा ६ र नवलपरासीमा पाँचजनाको ज्यान गएको छ । पाँचथर, रौतहट र बर्दियामा तीन–तीनजनाको ज्यान गएको छ भने काठमाडौं, पर्सा र स्याङ्जामा दुई–दुईजनाको मृत्यु भएको छ । केन्द्रका अनुसार आगलागीबाट धनकुटा, सप्तरी, सिराहा, महोत्तरी, बारा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, ललितपुर, कास्की, पर्वत, बाग्लुङ, रुपन्देही, अर्घाखाँची, गुल्मी, दाङ, बाँके, जुम्ला, दैलेख, कैलाली र कञ्चनपुरमा एक–एकजनाको ज्यान गएको छ । 

गत वर्ष यही अवधिमा आगलागीका घटना केही कम थिए, तर क्षति भने धेरै नै थियो । केन्द्रका अनुसार गत वर्ष यही अवधिमा मुलुकभर आगलागीका ८४५ घटना हुँदा ४९ जनाको ज्यान गएको थियो । १४८ जना घाइते भएका थिए । ८९ करोड ७९ लाखबराबरको क्षति भएको थियो ।

 राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा भन्छन् –भान्सामा खाना पकाउँदादेखि घरमा बिजुलीको वायरिङमा ध्यान दिन नसक्दा आगलागीका घटना बढी हुने गरेका छन् । तराईमा त फुसका घर धेरै हुने भएकाले पनि बढी आगलागी हुन्छ । जाडोमा आगो ताप्ने क्रममा र गर्मीमा हावाहुरीले आगो उडाएर अन्यत्र पनि सल्काउने गर्छ ।
 

 २४ घन्टामा मात्र १६ स्थानमा आगलागी  
पछिल्लो २४ घन्टामा मात्र १६ स्थानमा आगलागी भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गत १ वैशाखदेखि हालसम्म मुलुकभर आगलागीका दुई हजार दुई सय ४५ घटना रेकर्ड भएका छन् । यी घटनामा ८४ जनाको ज्यान गएको छ भने तीन सय ६ जना घाइते भएका छन् । दुई अर्बबराबरको क्षति भएको छ ।

 राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा भान्सादेखि नै सचेत हुनुपर्ने बताउँछन् । ‘भान्सामा खाना पकाउँदादेखि घरमा बिजुलीको वायरिङमा ध्यान दिन नसक्दा आगलागीका घटना बढी हुने गरेका छन् । तराईमा त फुसका घर धेरै हुने भएकाले पनि बढी आगलागी हुन्छ,’ उनले भने, ‘जाडोमा आगो ताप्ने क्रममा र गर्मीमा हावाहुरीले आगो उडाएर अन्यत्र पनि सल्काउने गर्छ ।’ 

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष हिउँदयाम सुक्खामै बितेको छ । हिउँदका तीन महिना (१५ मंसिरदेखि १५ फागुनसम्म) औसतमा ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने हो । तर, यो वर्ष हिउँद सकिनै लाग्दा पनि ७.९ मिलिमिटर (माघ मसान्तसम्मको तथ्यांक) मात्र वर्षा भएको छ । पश्चिम नेपालका केही क्षेत्रमा हल्का वर्षा भए पनि काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा वर्षा नै हुन सकेको छैन ।

 आगलागीका घटना तराईमा बढी
सवा तीन महिनामा तराई–मधेसमा आगलागीका घटना बढी भएका छन् । केन्द्रको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी आगलागीका घटना मोरङमा भएका छन् । मोरङमा ७३ स्थानमा आगलागी हुँदा ८२ घरपरिवार प्रभावित भएका छन् । तर, यहाँ मानवीय क्षति भने रेकर्ड भएको छैन ।

सुनसरीमा ६४ स्थानमा आगलागी हुँदा ७३ परिवार प्रभावित भएका छन् । केन्द्रका अनुसार झापा र धनुषामा ५९–५९ ठाउँमा आगलागी भएको छ । त्यस्तै, सप्तरीमा ४७, काठमाडौंमा ४०, रौतहटमा ३१, उदयपुरमा ३०, कपिलवस्तुमा २८, बारामा २७, सर्लाहीमा २३, पर्सामा २२ र दाङमा २० स्थानमा आगलागी भएका छन् । 

 वनजंगलमा डढेलो बढ्यो
सुक्खायाम सुरु भएसँगै वनजंगलमा डढेलाका घटना पनि बढ्न थालेका छन् । वन विभागमातहत रहेको ‘वन डढेलो पहिचान तथा अनुगमन प्रणाली’को रिपोर्टअनुसार पछिल्लो २४ घन्टामा मुलुकका १३ ठाउँमा डढेलो लागेको छ । बाजुरामा चार तथा खोटाङ र धनकुटाका दुई–दुई स्थानमा डढेलो लागेको छ । गुल्मी, हुम्ला, जुम्ला, भोजपुर र मकवानपुरका एक–एक ठाउँमा डढेलो लागेको छ ।

 वन विभागको भौगोलिक सूचना प्रणाली तथा नक्सांकन शाखाका प्रमुख गोविन्द श्रेष्ठका अनुसार गत वर्षभन्दा यो वर्ष वन डढेलो चाँडै सुरु भएको छ । ‘हिउँदमा वर्षा पनि भएन, चाँडै तापक्रम बढ्यो,’ उनले भने, ‘जमिनमा सुक्खापना बढ्दा कुनै ठाउँमा आगो लागिहालेमा चाँडो सल्किन्छ ।’