
जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिले आगामी वैशाखमा ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । फुटबल खेलको विकास गर्दै व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले वैशाख २ गतेदेखि ९ गतेसम्म जिल्लाकै सर्वाधिक राशिको गोल्डकप आयोजना गर्ने भएको हो ।
चिसापानीस्थित खर्क खेलमैदानमा आयोजना हुने गोल्डकपको प्रथम पुरस्कार नगद रु दुई लाख ५५ हजार ५०० को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको दोस्रो पुरस्कार नगद रु एक लाख ५५ हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र रहेको शुक्रबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ ।
गोल्डकपमा सेमिफाइनलिष्ट दुई टोलीले नगद रु ५०–५० हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजक जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले बताए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेण्डरलाई नगद रु १०÷१० हजार तथा म्यान अफ दि म्याचलाई नगद रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
गोल्डकप सञ्चालन गर्न रु ३० लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । गोल्डकपमा सहभागी खेलाडीहरुका लागि खाना, बास तथा आवतजावतको व्यवस्था आयोजकले नै गर्नेछ ।