मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ५ शुक्रबार
  • Monday, 16 December, 2024
२o७९ फाल्गुण ५ शुक्रबार o६:४८:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राणाहरूको पदचाप पछ्याउँदै हामी

एक सय चार वर्षको राणाशासनमा व्यापारबाट राम्रो आम्दानी भए पनि त्यो रकम देशविकासमा प्रयोग नभएकाले एक शताब्दी त्यसै खेर गयो

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ५ शुक्रबार o६:४८:oo

अघिल्लोपटक मैले सय वर्षअगाडि हामी व्यापारमा कसरी नाफा गथ्र्यौं र त्यसमा पनि अन्नको कति ठूलो योगदान थियो भन्नेबारे उल्लेख गरेकी थिएँ । नेपालले वार्षिक करोडौँको नाफा त्यही निर्यातमार्फत कमाउने गरेको थियो । सय वर्षअगाडिको नेपाल र भारतबीच हुने गरेको व्यापारमा नेपालले के–के आयात गथ्र्याे त भन्ने तथ्य पनि कम रोचक छैन ।

 सन् १९१९ मा भारतबाट नेपालले एक करोड चार लाखको तयारी सुतीका पोसाकहरू आयात गरेको थियो । त्यसमध्ये ७४ लाखका पोसाक भारतमा तेस्रो देशबाट ल्याइएका थिए । नेपालले आयात गर्ने सामग्रीमा तयारी पोसाकले ठूलो प्रतिशत ओगट्थ्यो । आयात भएकोमध्ये एकचौथाइ भाग तिब्बत निर्यात भए पनि बाँकी पोसाक नेपालमै खपत हुन्थ्यो ।

ती पोसाक लगाउँथे कसले ? 
त्यति ठूलो आयातको बाँकी भाग उपभोग गर्ने वर्ग काठमाडौंमा केन्द्रित राणा सरकारका मानिस र उनीहरूका नजिकका व्यक्तिहरू नै थिए । पृथ्वीनारायण शाहले स्वदेशी सामानको प्रयोग र विदेशी सामान निषेधको नीति लिएका थिए । तर, त्यो नीति उनको मृत्यु भएको बीस वर्षसम्म पनि टिकेन । ‘मोर्डन नेपाली हिस्ट्री एन्ड राइज अफ मिडिल क्लास’मा कर्क प्याट्रिकलाई उल्लेख गर्दै मार्क लिच्टी लेख्छन् ‘पृथ्वीनारायण शाहको मृत्यु भएको बीस वर्ष नपुग्दै नेपाली सेनाभित्र अंग्रेजी ऊनीका ‘ब्रोडक्लोथ’ को उल्लेख्य प्रयोग सुरु भइसकेको थियो ।’ 

भीमसेन थापाको प्रधानमन्त्रीकालमा युरोपेली सामानको प्रयोग काठमाडौंमा बढ्न थालेको इतिहास छ । थापाको पहिरन पश्चिमा शासकसँग मिल्दोजुल्दो थियो । नेपाल नामक पुस्तकमा पर्सेभल लान्डोनले भीमसेन थापाको फोटोमुनि लेखेका छन्– ‘भीमसेन थापाले ब्रिटिस जर्नेलको जस्तो पहिरन लगाएर आफूलाई उस्तै देखाउन खोजेका छन् ।’ 

त्यसमाथि भारतमा बिट्रिस शासन सुरु भएसँगै पश्चिमा पहिरनसँग शासकबाहेकका किन्न सक्ने वर्गको पनि पहुँच बढ्यो । नेपालमा आयात हुने कच्चा कटनबाहेकका तयारी पोसाक धेरैजसो उपनिवेश भारतमा अंग्रेजले लगाउने ‘ब्रान्ड’का पहिरन थिए । उनीहरूका लागि धेरैजसो पहिरन बेलायतबाट भारत आउँथे । पछि भने त्यस्ता पोसाक भारतमै पनि बन्न थाले । भारतमा बनेको ‘डिटो सुट’ नेपालमा पनि प्रसिद्ध थियो । १९१९ मा ३० लाखको भारतीय डिटो नेपाल भित्रिएका थिए । भारतमा निर्यातबाट हुने नाफाबाट राणाहरूले लक्जरी सामग्री आयात गर्थे र महँगोमा बेच्थे । ती सामग्रीमा चर्काे कर लगाइएको हुन्थ्यो ।

गाउँगाउँमा लाहुरेमार्फत पुगे विदेशी सामान 
जब बेलायती सेनामा नेपाली युवा भर्ना भए, विदेशी सामानमाथिको पहुँचको अवस्था फेरियो । पहिलो विश्वयुद्ध सकिएपछि सन् १९२० तिरको प्रसंग भन्दै सरदार भीमबहादुर पाँडे लेख्छन्, ‘ती लाहुरेका साथमा त्यत्रो धनराशी मात्र एकाएक नेपाल भित्रिएन, अनेक नयाँ विदेशी बानीव्योहोरा, मालताल, ढाचाँकाँचा, लवाइखवाइ र विचारधारका साथै नेपालमा पहिलोपटक समुद्रपारको बानीव्यहोरा पनि भित्रियो ।’ 

त्यसपछि नेपालका हाट बजारमा जताततै प्रशस्त विदेशी सामान पाइन थाले । जापानी टेनिस सुज, जुत्ता, दश पैसा गजमा नैनसुत, पदेला गाउन, धाति भाँडा, गरम मसला, नरिवल, चुरोट, तामा र काँसका भाँडा, बाघकाने जुत्ता हाट बजारमा भेटिन्थे ।

एक सय वर्षअगाडिको आयातलाई अहिलेको आयातसँग तुलना गर्न नमिले पनि पूरै विश्व एउटा कम्प्युटरमा समेटिएको ग्लोबलाइजेसनको युगमा पनि हामीले आयातमा हाम्रो सामथ्र्यको दुरुपयोग भने उसैगरी गरिरहेका छौँ । हाम्रो अर्काे शताब्दी पनि उस्तैगरी खेर जाँदै छ ।
 

पहिलो विश्वयुद्धपछि पैसा र साथमा चाहना बोकेर फर्किएका सिपाहीले नेपालमा विदेशी सामानको पहुँच आममानिससम्म पुर्‍याए । नेपाली परम्परागत उद्योगमा त्यसको प्रत्यक्ष असर परे पनि राणाहरू भने उत्साहित थिए । त्यसवेला उनीहरूले एक जिल्लाबाट अर्काे जिल्लामा सामान पठाएबापत पनि कर उठाउने गरेका थिए । राणाहरूको उद्योगलाई आधुनिकीकरण गर्न गरेको बेवास्ता र आयात बढाउने उत्साहले देशका परम्परागत उद्योगधन्दा धराशयी भए ।

पैसा आएसँगै व्यापार कसरी खस्कियो ? 
तर नेपालले आफ्नो व्यापार नाफाको गतिलाई किन कायम राख्न सकेन ? उत्पादनमुखी व्यापार नहुनु र कच्चापदार्थमा निर्भर व्यापारले दिगोपन लिन नसकेको हो । अन्नमा नेपालभित्र माग बढ्न थालेपछि राणा सरकारले निश्चित समयावधिका लागि अन्न नबेच्न र देशभित्र पुग्ने गरी भण्डार गर्न उर्दी गरेको सूचना दिन ब्रिटिस सरकारलाई चिठी पठाएका प्रसंग भेटिन्छन् । 

बेलायती सेनामा गएका नेपाली युवाले फेरेको जीवनशैलीको स्वादलाई त्यसवेलाको सरकारले ध्यान नदिएको सरदार भीमबहादुर पाँडेले लेखेका छन् । त्यसवेला उनीहरूले साथमा १३ करोड रकम नेपाल भिœयाएको भए पनि त्यसको सही सदुपयोग गर्न नसकेको भन्दै पाँडे लेख्छन्– ‘त्यसवेला स्वदेशी मालको उत्पादन बढाएर उनीहरूको माग पूरा गर्न सकेको भए, त्यो पैसाको छेलोखेलोको नतिजा अवश्य पनि फलदायी हुने थियो ।’

मानिसलाई चाहिने सरसामानका लागि ससाना घरेलु उद्योग थिए । लुगा आफ्नै, कोदालो आफ्नै, भाँडाकुँडा यहीँका, चाहिने सामग्री सबै नेपालमै बन्थे । त्यसले व्यापारमा आयातलाई रोकिरहेको थियो ।त्यसवेला गाउँगाउँसम्म पुग्ने आयातित सामग्री नुन र तेल थियो । भौगोलिक निकटताका कारण पहाड र हिमालका लागि तिब्बतबाट र तराईतिर भारतबाट नुन आयात गरिन्थ्यो । 

राष्ट्र बैंकको विसं. ०७६ मा प्रकाशित एक रिपोर्टअनुसार पछिल्ला वर्षमा नेपालमा उपभोग्य सामग्री आयात गर्ने प्रचलन बढ्दै गएको छ । नेपालका अर्थशास्त्रीहरूले विसं ०३० को दशकमै नेपालमा खानाको अभाव हुने लेख्न थालेका थिए । तैपनि नेपालले उत्पादन बढाउने गरी काम गरेन । 

खेर गएको अथाह पैसा र एक शताब्दी 
बेलायती सेनामा भर्ना भएका एक–एक नेपाली युवाको कमिसन तथा नेपालबाट काठ बेचेर मात्रै राणाहरूले अर्बौं कमाएको तथ्यले देखाउँछन् । तर, त्यो विकासमा लगाएर नेपालका जनताहरूले सुबिस्ता पाउने मौका पाएनन् । राणाहरूले राजस्व बढाउन मालपोत र भन्सारमा निकै कडाइ गरेका थिए । हिसाब नमिल्दा कर्मचारीबाटै असुल गर्ने नियम राणाकालमा थियो । 

राजस्वमा चुहावट र चोरी पैठारी नहोस् भनेर राणाहरूले ठाउँठाउँमा बजार अड्डा मात्रै होइन, त्यसलाई सुनश्चित र सुरक्षित गर्न हरेक दुई माइलमा एउटा पुलिसचौकी पनि गठन गरेका थिए ।तर, त्यसरी जम्मा गरेको रकम राणाहरूले देशबाहिर थुपारे । भीमबहादुर पाँडेले तराईमा राजस्वबाट उठ्ने गरेको अधिकांश रकम सीधै भारतको इम्पेरियल बैंकमा प्रधानमन्त्रीको निजी खातामा जम्मा गरिने गरेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । राज्यमा जोडिएका रकम रातारात आफ्नो नाममा सार्न राणाहरूलाई सधैँ हतारो हुन्थ्यो । पाँडेले नै चन्द्रशमशेरले तिब्बतसँग युद्ध गर्न छुट्याएको तीन करोड रुपैयाँ भीमशमशेरले मुलुकीखानाबाट रातारात आफ्नो दरबारमा ओसारेको उल्लेख गरेका छन् ।

एक सय चार वर्षको राणाशासनमा व्यापारबाट राम्रो आम्दानी भए पनि त्यो देशविकासमा प्रयोग नभएकाले एक शताब्दी यसै खेर गयो । भएको सीमित विकास पनि काठमाडौंमा केन्द्रित थियो । चन्द्रशमशेरले बिजुली निकाले तर त्यो विशेष राणाहरूको सुविधाका लागि मात्र थियो । काठमाडौंमै पनि त्यसवेला तीनवटा चिम बाली पाऊँ भन्दै निवेदन दिनुपर्ने अवस्था थियो । 

वि.सं १८५० मा नेपालको राजस्व वार्षिक २५ लाख थियो, त्यो १९३२ मा ९६ लाख पुगेको र २००७ मा राणाहरूको शासन अन्त्य हुँदा दुई करोड ९३ लाख पुगेको थियो । तर, राणाहरूले जनताका लागि बनाएका संरचनाभन्दा भारत र नेपालमा बनाएका निजी भवन बढी थिए ।

सन् १९२० मै राणाहरूले काठमाडौंसम्म भरियाबाट बोकाएरै आफ्नो सुविधाका लागि गाडी नेपाल भित्र्याए । तर, तिनै गाडी चलाएर देशका ठाउँठाउँसम्म पुग्न सकिने बाटो भने बनाएनन् । 

अहिले रेमिट्यान्सको स्वाहा 
एक सय वर्षअगाडिको आयातलाई अहिलेको आयातसँग तुलना गर्न नमिल्ने कैयौँ कारण छन् । ग्लोबलाइजेसनको युगमा पूरै विश्व एउटा कम्प्युटरमा समेटिएको छ । तर, हामीले आयातमा हाम्रा सामथ्र्यलाई दुरुपयोग भने उसैगरी गरिरहेको प्रमाण छ । सन् १९९९ देखि रेमिट्यान्सले नेपालको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत हिस्सा ओगट्दै मुख्य आम्दानी स्रोत बन्न पुगेको राष्ट्र बैंकको एक अनुसन्धानमा उल्लेख छ । 

२० वर्षमै त्यो दोब्बर भएर सन् २०१९/२० मा त्यो बढेर २३ दशमलव ३ प्रतिशत हिस्सा ओगट्यो । चालू आर्थिक वर्षको चार महिनामा मात्रै झन्डै तीन खर्ब ७८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । भन्सार विभागको तथ्यांक केलाउँदा यो पैसा हामीले स्पेनदेखि अस्ट्रेलियाबाट आयातित बिस्कुट, इटालीदेखि भियतनामबाट ल्याइएको टमाटरको केचप, ग्वाटेमालाको सोया, फ्रान्सदेखि ब्राजिलबाट आयातित छालाका पहिरनमा खर्च गरिहेका छौँ । हाम्रो अर्काे शताब्दी उस्तैगरी खेर जाँदै छ । 

[email protected]