
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आममतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताएका हुन्।
उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए। उनले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानुन बनाएर आममतदातालाई दिइनुपर्ने उनको भनाइ थियो।
प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरूलाई मात्रै सर्वदलीय बैठकहरूमा समावेश गराउने प्रावधान राख्ने गरी आयोगले निर्णय गर्न लागेको बताए।
उनले जिल्लामा सर्वदलीय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दलहरूलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताए।
दल दर्ता गर्नु उपलब्धि नभएर जनताद्वारा अनुमोदित हुनु र वैधता सिर्जना गर्नु ठूलो कुरा भएको उनको भनाइ थियो। आयोगले समावेशिता र लैंगिक समानतालाई अत्यधिक समेटेर निर्वाचन कानुन तयार गरिरहेको बताए।