१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण ३ बुधबार २१:२४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आर्थिक समस्या टार्न ‘रोप-वे’ लिलामी गर्दै हेटौँडा सिमेन्ट !

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ३ बुधबार २१:२४:००

आर्थिक अभावको मार खेपिरहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योगले रोप–वे कबाडीको रूपमा लिलामी गर्ने भएको छ। 

हेटौँडा ९ मा रहेको उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुनढुंगा ढुवानीको लागि प्रयोगमा ल्याइएको रोप–वे लिलामी गर्ने तयारी गरेको हो।

लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्रीबाट आएको रकमले उद्योगमा देखिएको आर्थिक समस्यामा थोरै भए पनि सहयोग पुग्ने भएकाले लिलामी गर्न लागिएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए।

भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर रोप–वेको सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेटलगायतका फलामजन्य सामान लिलामी गर्न लागिएको हो। लामो समयदेखि बन्द रहेको रोप–वे पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको उद्योगको ठम्याइ छ।

उद्योगका महाप्रबन्धक पाण्डेले २०६१ सालयता बन्द अवस्थामा रहेको रोप–वेको टावर, तार र बकेट गरी करिब १५ सय टन फलाम लिलामी गर्ने तयारी भएको बताए। 

उनले उद्योगमा देखिएको आर्थिक समस्याको समाधानका लागि स्रोत जुटाउन पनि रोप–वे बेच्न लागेको दाबी गरे।

‘रोप–वे लामो समयदेखि प्रयोगमा नआएकोले बेच्न लागेका हौँ। उद्योगले पछिल्लो समय रोप–वेको प्रयोग गर्न सकेको छैन। प्रयोगविहीन रोप–वे लिलामीबाट आएको रकमले उद्योगमा देखिएको आर्थिक समस्यालाई थोरै भए पनि हल गर्न सक्ने देखिन्छ,’ उनले भने।

लामो समयदेखि एकै स्थानमा झुन्डिएका रोप–वेका बकेट कुनै पनि बेला खस्न सक्ने अवस्था छ। महाप्रबन्धक पाण्डेले रोप–वेको टावर रहेको र डब्बा झुन्डिएका स्थानका बासिन्दाहरूले समेत दुर्घटना हुन सक्ने भन्दै बारम्बार रोप–वे हटाउन उद्योगमा लिखित र मौखिक आग्रह गरिरहेको जानकारी दिए।
 
‘प्रयोगविहीन भएर खिया लागेर बसेका रोप–वेका टावर र बकेटका कारण कुनै पनि बेला दुर्घटना हुन सक्छ । पुनः प्रयोग गर्न नसक्ने भएपछि दुर्घटनाको जोखिम लिनुभन्दा लिलाममा बेच्ने निष्कर्षमा पुगेका हौँ,’ उनले भने। ‘लिलामीको प्रक्रियाका लागि रोप–वेको मूल्यांकन समितिले प्रतिवेदन दिएपछि सोहीअनुसार लिलामीको सूचना निकाल्छौँ।’ 

अबको १०–१५ दिनभित्र रोप–वेको लिलामीको सूचना निकाल्ने माहाप्रबन्धक पाण्डेको भनाइ छ। उद्योगको आर्थिक अवस्था निकै जर्जर भएपछि उद्योग प्रशासनले उद्योगमा रहेका विभिन्न धातुजन्य कवाडीको लिलामी गर्न यसअघि नै सूचना निकालिसकेको महाप्रबन्धक पाण्डेले जानकारी दिए।

उनले पहिलो चरणमा उद्योगमा रहेका कवाडी सामान बेच्न, दोस्रो चरणमा रोप–वेको लिलामी गर्ने र तेस्रो चरणमा उद्योगले प्रयोग गरेका पुराना सवारीसाधनलाई लिलामी गर्ने बताए। 

‘उद्योगको आर्थिक अवस्था निकै जर्जर भइसकेको छ। यही अवस्थामा उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन। हामीले सरकारलाई पटक–पटक समस्याको समाधान गरिदिन आग्रह गरेका छौँ। उपाय पनि बताएका छौँ। तर, आश्वासनभन्दा केही पनि पाइएन,’ उनले दुःखेसो पोखे।

आर्थिक समस्या टार्नकै लागि रोप–वे, कवाडी र पुराना सवारीसाधन बेच्ने निष्कर्षमा उद्योग पुगेको उनको दाबी छ। आर्थिक अभावकै कारण कोइला समयमा आपूर्ति हुन नसकेपछि उद्योग केही दिनदेखि बन्द अवस्थामा छ।