मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ २७ शुक्रबार ११:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सात अस्पताललाई बागमतीले दियो अत्याधुनिक एम्बुलेन्स

Read Time : < 1 मिनेट
२०७९ माघ २७ शुक्रबार ११:०९:००

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका सातवटा प्रादेशिक अस्पताललाई अत्याधुनिक ‘ख’ वर्गका एम्बुलेन्स प्रदान गरेको छ । मन्त्रालयले बुधबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत ती एम्बुलेन्स प्रदान गरेको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेशको भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईं स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिलाई ती एम्बुलेन्स हस्तान्तरण गरे ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रदेशका सबै नगारिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन एम्बुलेन्सले सहयोग पुग्ने बताए । उनले प्रदेशका सबै भागमा स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै तत्काल सेवा नपुगेका नागरिकलाई एम्बुलेन्सको प्रयोगबाट भए पनि स्वास्थ्य सेवा भएका स्थानसम्म पुर्‍याउन सजिलो हुने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले प्रदेशका सीमान्तकृत, लोपोन्मुख समुदायका नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन स्वास्थ्य बिमा सेवालाई पनि प्रभावकारी रूपमा लागू गरिने बताए । उनले स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान गरिने औषधि अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले सातवटा एम्बुलेन्स खरिद गर्दा तीन करोड ७० लाख ३० हजार लागत लागेको जानकारी दिए । उनले प्रतिएम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको बताए ।