मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ माघ २० शुक्रबार १३:४२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खेलमैदान र दक्ष प्रशिक्षकको अभावसँगै मकालुमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ माघ २० शुक्रबार १३:४२:००

संखुवासभाको मकालु गाउँपालिकाको नुमस्थित सिंहेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता दुःखका साथ सम्पन्न भएको छ।

बिहीबार पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन गरिएको थियो। सो समारोहमा आयोजक विद्यालय सिंहेश्वरी माविका प्रधानाध्यापक पूर्णबहादुर तामाङले खर्च अभाव, खेलमैदानको अभावसँगै दुःखले चारदिने राष्ट्रपति रनिङ सिल्ड सम्पन्न गरेको गुनासो गरे।

उनले पालिकास्तरीय प्रतियोगिता भए पनि आयोजकले सहभागी टिमलाई राख्न व्यवस्थापनमा समस्या, खेलमैदानको अभाव हुँदा मोटरबाटोमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने र दक्ष प्रशिक्षकको अभाव, त्यसमाथि मापदण्डअनुसारको खेल खेलाउन नसकिएको दुःख सुनाए।

त्यसैगरी हिमालय माविका खेलशिक्षक चन्द्र दियालीले खेल व्यवस्थापन खर्च कम भएकोले विद्यालयलाई आर्थिक भार बढेको बताए। उनले विद्यालयमा खेल क्षेत्रको विकास गर्न खेल शिक्षकलाई तालिम प्रदान गरी दक्ष बनाउन जरुरी रहेको बताए। 

उनीजस्तै हेमाद्री माविका शिक्षक हेमकुमार तामाङले सडकमा विद्यार्थीलाई दौडाउनुपर्दा सडकमा दौडँदा खेलाडी लडेर चोटपटक लागेर घाइते हुनुपरेको बताए।

गत आइतबारबाट सुरु भएको प्रतियोगितामा हेमाद्री मावि प्रथम भएको छ। सो विद्यालयले ११ स्वर्ण, ६ रजत र १२ कांस्य गरी जम्मा २९ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो भने सिंहेश्वरी माविले १० स्वर्ण, १० रजत र पाँच कांस्य गरी जम्मा २५ पदक प्राप्त गरी द्वितीय स्थान र  हिमालय माविले सात स्वर्ण, १२ रजत र ११ कांस्य गरी जम्मा ३० पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेको मकालु गाउँपालिकाका शिक्षा शाखा संयोजक पुष्पबहादुर तामाङले जानकारी दिए। 

उनको अनुसार भलिबल, कबड्डी, हाइजम्प, त्रिपलजम्प, लङजम्प, ज्याब्लिङ थ्रो, सटफुटलगायत विभिन्न खेल खेलाइएको थियो। छात्रातर्फ १४ र छात्र तर्फ १४ गरी जम्मा २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो।

कार्यक्रममा पालिकाका उपाध्यक्ष मनकला राई र प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जीले विजयीलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। मकालु गाउँपालिकाभित्र रहेका तीनवटा माध्यमिक विद्यालयले सो प्रतियोगितामा भाग लिएका थिए।