
नेपाल अभिभावक महासंघले सामुदायिक विद्यालयका समस्याका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको ध्यानाकर्षण गराएको छ । महासंघको टोलीले बुधबार मन्त्री खनालसमक्ष १६ बुँदे ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो ।
महासंघले वर्तमान संविधानले मावि तहसम्मको शिक्षा नि:शुल्क गर्ने र व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिए पनि स्थानीय तहले उचित समन्वय र सहकार्य नगरेको भन्दै त्यसबारे ध्यानाकर्षण गराएको छ ।
महासंघका अनुसार स्थानीय तहले उचित समन्वय र सहकार्य नगर्दा विद्यालयको शैक्षिक परिणामसमेत खस्कँदै गएको छ । हाल सरकारले दिँदै आएको विद्यालय तहको छात्रवृत्ति लक्षित समुदायमा पुग्न नसकेकोबारे पनि महासंघले ध्यानाकर्षण गराएको छ ।
विषयगत शिक्षकको दरबन्दी व्यवस्थित नभएको, बालबालिकालाई कोभिडविरुद्धको भ्याक्सिनको व्यवस्था मिलाउनुपर्ने, द्वन्द्वपीडित शिक्षक तथा कर्मचारीका समस्या सुनुवाइ नभएको, विश्वविद्यालयको पठनपाठन र शिक्षालाई तालिकाबमोजिम सञ्चालन गर्नुपर्ने, विदेश पढ्न जाने विद्यार्थीका लागि परामर्श कक्षा सञ्चालन गर्नुपर्नेलगायत विषयमा महासंघले ध्यानाकर्षण गराएको संयोजक धर्मदत्त देवकोटाले बताए ।