
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई लिएर गठबन्धन टुट्न नदिने प्रयासमा रहेको बताएका छन्।
पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘हामी सल्लाह गर्दै छौँ। सकेसम्म इंगेज भइराख्ने, यो (गठबन्धन) नटुटोस् भन्ने कोसिस छ,’ उनले भने।
रवि लामिछानेको नागरिकताको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीले नै राख्नुपर्ने सुझाव आएको पनि प्रचण्डले उल्लेख गरे। अदालतको पूर्णपाठ कुरेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो पनि कुर्नपर्ने आवश्यकता छ भन्ने सुझाव छ धेरैको। हामी सल्लाह गर्दै छौँ।’
नागरिकताको मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमाएका लामिछानेले उपप्रधान एवं गृहमन्त्री पद पनि गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले गृह मन्त्रालय पाउनुपर्ने अल्टिमेटम दिइरहँदा प्रचण्ड राहदानीको विवाद समाधानपछि मात्र निर्णय गर्नुपर्ने पक्षमा छन्।