मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १५ आइतबार ०७:४६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

हिउँमा पनि हाई अल्टिच्युड प्रशिक्षण नियमित

Read Time : > 1 मिनेट
२०७९ माघ १५ आइतबार ०७:४६:००

जुम्लाका उच्च क्षेत्रमा प्रशिक्षक हरि रोकायाले खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै 

पडाडको चारैतिर आँखा लगाउँदा हिउँ नै हिउँ छ । अझ चिसो मौसममा यहाँको तापक्रम माइनस रहन्छ । चिसोले कोठाभित्र नै कठ्यांग्रिएर बस्नुपर्ने अवस्थामा खेलाडी भने सेताम्मे हिउँमा रमाउँदै नियमित प्रशिक्षणमा व्यस्त देखिन्छन् । उनीहरूले चिसो मौसममा पनि प्रशिक्षण लिइरहेका छन् । कर्णाली स्पोर्टस् क्लबका खेलाडीले यस्तै मनमोहक मौसम र वातावरणमा प्रशिक्षण लिँदै आएका छन् । नेपाली मात्र नभएर भारतीय खेलाडी पनि नेपालको उच्च भेगमा प्रशिक्षण लिन आउँछन् । 

अझ आकाशमा बादल लागोस्, पानी परोस् वा हिउँ परोस्, उनीहरू नियमित प्रशिक्षण लिन छाड्दैनन् । क्लबका खेलाडी १२ महिना प्रशिक्षणमा सहभागी हुन्छन् । यस क्लबबाट उत्पादित खेलाडीले जिल्ला, क्षेत्रीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा आफ्नो बलियो उपस्थिति पनि देखाउँदै आएका छन् । खेलाडीलाई विगत १४ वर्षदेखि प्रशिक्षक तथा चर्चित धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिँदै आइरहेका छन् । 

उनकै प्रयासमा जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ गर्न आउने प्रशिक्षार्थी बढिरहेका छन् । जिल्लाभित्रबाट मात्रै होइन, भारत र नेपालका विभिन्न जिल्लाबाट समेत प्रशिक्षण लिन आउने गरेका छन् । प्रशिक्षक रोकायाले जुम्लाका उच्च क्षेत्र चिमारामालिका, चेरेलेक, डाँफेलेकमा लगेर अभ्यास गराउने गर्छन् । अन्य ठाउँको भन्दा यहाँको हावापानी खेलाडीका लागि उपयुक्त रहेको उनको भनाइ छ । ‘यहाँ अभ्यास गरेका खेलाडीले स्वदेश तथा विदेशमा सहजै प्रतिस्पर्धा गर्न सक्छन्,’ प्रशिक्षक रोकाया भन्छन् । 

अन्तर्राष्ट्रिय खेलमा पदक
रोकायाबाट प्रशिक्षण लिएका खेलाडीले थाइल्यान्ड, सिंगापुर, भारत र हङकङलगायतका देशमा गएर उपाधि हात पारेका छन् । एथ्लेटिक्सकी धाविका विश्वरूपा बुढाले छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितेकी थिइन्  । जुम्लाकै धाविका सुनमाया बुढाले सन् २०१८ मा सोलुखुम्बुको कालापत्थरदेखि स्याङ्बोचे म्याराथनमा पहिलो स्थान हात पारेकी थिइन् । सुनमायाले सन् २०१८ मा चाइना रेस, सन् २०१६ मा ५० किलोमिटर रेस, सन् २०१७ मा विश्व च्याम्पियन्स र थाइल्यान्डमा भएको एक सय १० किलोमिटर दूरीको दौडसमेत जितेकी थिइन् । हङकङमा ५० किलोमिटर लामो ‘एमएसआइजी ट्रेल रनिङ प्रतियोगिता’मा पनि सुनमायाले पदक हात पारेकी थिइन् । 

रोकायाले प्रशिक्षण दिएकी सुनमाया मात्र होइनन्, सीता न्यौपानेले पनि गुरुको नाम उच्च पारेकी छिन् । सीता न्यौपानेले पनि जिल्ला, क्षेत्रीय र राष्ट्रियस्तरका प्रतियोगिता जित्न सफल भइसकेकी छिन् । राममाया बुढा, मञ्जु रावत, गोविन्दप्रसाद अधिकारी, प्रकाश कठायत, अमृता भण्डारीलगायत यहाँबाट उत्पादित खेलाडीले दर्जनौँ प्रतियोगितामा कीर्तिमान कायम गरिसकेका प्रशिक्षक रोकायाले बताए । ‘यहाँ प्रशिक्षण गरेका खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा नाम राखेका छन्,’ रोकायाले भने, ‘नियमित रूपमा प्रशिक्षण गर्न पाउँदा खेलाडी पनि खुसी छन् ।’