१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ माघ १५ आइतबार ०७:०७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सूर्यविनायक–धुलिखेल सडक तीन वर्षभित्र चार लेनमा विस्तार

Read Time : > 1 मिनेट
२०७९ माघ १५ आइतबार ०७:०७:००

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो । 

कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमि सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लागेको हो । त्यस्तै, दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किमि छ । यो खण्डका लागि तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नुपर्ने अधिकारीले बताए । 

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकखण्ड विस्तार गर्न लागिएको हो । यसका लागि आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो । उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । त्यस्तै, पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरका तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको छ, जसको अनुमानित लागत ९० करोड छ । 

डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुनेछ भने सर्भिस लेन निर्माण गर्न नसकिने अध्ययनले देखाएको छ । सो दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो । 

आयोजना प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । साथै, बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ ।

काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइनेछ भने आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ । यस्तै, प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौं–पूर्वी तराई आउजाउ गर्छन् । उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि गत साउन पहिलो साता राजमार्गछेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले ०७६ मा सडक निर्माणस्थल खाली गराउन रूख कटानलगायत काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो । रासस