१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ १२ बिहीबार १४:२८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हिउँमा पनि हाई अल्टिच्युड ट्रेनिङ

Read Time : > 1 मिनेट
२०७९ माघ १२ बिहीबार १४:२८:००

कर्णाली स्पोर्टस् क्लबका खेलाडीले नियमित प्रशिक्षण गर्दै आएका छन् । आकाशमा बादल लागोस्, पानी परोस् वा हिउँ परोस्, उनीहरू नियमित प्रशिक्षण गर्न छाड्दैनन् । बाह्रै महिना प्रशिक्षणमा सहभागी हुन्छन् । यो क्लबका उत्पादनले जिल्ला, क्षेत्रीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा आफ्नो बलियो उपस्थिति पनि देखाउँदै आएका छन् ।

क्लब प्रशिक्षक एवं धावक हरिबहादुर रोकायाले करिब १४ वर्षदेखि यो क्लबमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । उनकै प्रयत्नमा जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ गर्न आउने प्रशिक्षार्थी बढिरहेका छन् । जिल्लाभित्रबाट मात्रै होइन, भारत र नेपालका विभिन्न जिल्लाबाट समेत प्रशिक्षणलाई आउने गरेका उनले बताए  ।

प्रशिक्षक रोकायाले जुम्लाका उच्च क्षेत्र चिमारामालिका, चेरेलेक, डाँफेलेकमा लगेर अभ्यास गराउने गर्छन्   । अन्य ठाउँको भन्दा यहाँको हावापानी खेलाडीका लागि उपयुक्त रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँ अभ्यास गरेका खेलाडीले स्वदेश तथा विदेशमा सहजै प्रतिस्पर्धा गर्न सक्छन् ।’

यहाँ प्रशिक्षण लिएका खेलाडीले थाइल्यान्ड, सिंगापुर, भारत र हङकङलगायतका देशमा गएर उपाधि हात पारेका छन् । एथलेटिक्सकी धाविका विश्वरूपा बुढाले छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन्  । जुम्लाकै धाविका सुनमाया बुढाले सन् २०१८ मा सोलुखुम्बुको कालापत्थरदेखि स्याङ्बोचे म्याराथनमा प्रथम, सन् २०१८ मा चाइना रेसमा प्रथम, सन् २०१६ मा ५० किलोमिटर रेसमा प्रथम, सन् २०१७ मा वर्ल्ड च्याम्पियन्स र थाइल्यान्डमा सम्पन्न एक सय १० किलोमिटर दूरीको दौडसमेत जितेकी थिइन् ।

यस्तै, हङकङमा ५० किलोमिटर लामो ‘एमएसआइजी ट्रेल रनिङ प्रतियोगिता’मा पनि सुनमायाले पदक जितिन्  । सीता न्यौपानेले पनि जिल्ला, क्षेत्रीय र राष्ट्रियस्तरका प्रतियोगिता जित्न सफल भइसकेकी छिन्  । राममाया बुढा, मञ्जु रावत, गोविन्दप्रसाद अधिकारी, प्रकाश कठायत, अमृता भण्डारीलगायत यहाँबाट उत्पादित खेलाडीले दर्जनौँ प्रतियोगितामा कीर्तिमान कायम गरिसकेका प्रशिक्षक रोकायाले बताए ।