
प्रदेश १ को मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यको नाम सिफारिस भएको छ । झापाको कमल गाउँपालिकानिवासी वरिष्ठ अधिवक्ता आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को चौथो मुख्य न्यायाधिवक्ता नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।
सिफारिस भएका आचार्यलाई बुधबार अपराह्न प्रदेश प्रमुख परशुराम खापुङले नियुक्त गरेर शपथग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले बताए । नियुक्तिका लागि सिफारिस भएका आचार्य नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद् झापाका अध्यक्ष पनि हुन् ।
प्रदेश १ मा यसअघि चूडामणि आचार्य, भोजराज श्रेष्ठ र परिवर्तन राई न्यायाधिवक्ता नियुक्त भएका थिए ।