Skip This
जंगलमै मञ्च बनाएर नाटक मञ्चन [फोटोफिचर]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Friday, 26 July, 2024
२o७९ माघ १० मंगलबार २o:oo:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जंगलमै मञ्च बनाएर नाटक मञ्चन [फोटोफिचर]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार २o:oo:oo

इलामको चुलाचुली–३ स्थित शिववरक मिलनपोखरीको जंगलमा मञ्च बनाएर नाटक मञ्चन गरिएको छ। चुलाचुली रंगमञ्चले आयोजना गरेको दुईदिने चुलाचुली पाठशाला नाट्य उत्सवमा जंगलमा मञ्च बनाएर नाटक मञ्चन गरिएको हो।

मंगलबार र बुधबारका लागि आयोजना गरिएको नाट्य उत्सवको पहिलो दिन पाँच नाटक मञ्चन गरिएको छ। चुलाचुली रंगमञ्चको नाटक ‘मेला’, शब्द थिएटर र रेड स्टार बोर्डिङ पथरीको ‘छोरी मान्छे भएर’, अमृत बोर्डिङ स्कुल चुलाचुली–२ को ‘देउती’, भानु मावि चुलाचुली–५ को वातावरण र बालज्योति मावि चुलाचुली–४ को ‘ख बाट’ नामक नाटक मञ्चन गरिएको थियो।

नाट्य उत्सवमा मञ्चन गरिएका अधिकांश नाटकमा विद्यालयका बालबालिका कलाकारको भूमिकामा थिए। उनीहरूको प्रस्तुति उत्कृष्ट थियो। ‘हामीले विद्यालयका बालबालिकामा नाटक बुझाउनु थियो। त्यस अर्थमा हामी सफल भएका छौँ,’ चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले भने।

नाट्य उत्सवमा झापा, इलाम, मोरङ र पाँचथरका गरी दशवटा नाटक सहभागी छन्। बुधबार पाँचवटा नाटक मञ्चन गर्ने अध्यक्ष आङ्थुपोले बताए। नाट्य उत्सवहरू ठूला हल र सहरमा हुँदै गएका थिए। तर, यसपटक चुलाचुली रंगमञ्चले जंगलमा मञ्च बनाएर नाट्य उत्सव गरिरहेको छ।

यो नेपालमा पहिलो प्रयोग भएको दाबी गर्छन्, आङ्थुपो। प्रकृतिको काखमा गरिएको नाट्य उत्सवमा बस्ने प्याराफिट पनि बाँसको बनाइएको छ। उत्सवमा उल्लेख्य दर्शकको उपस्थिति थियो। जंगलभित्र खेतका गह्राहरू भरिभराउ देखिन्थे। चुलाचुली रंगमञ्चको यो नाट्य उत्सव दोस्रो संस्करण हो। 

०७६ मा नाट्य उत्सवको पहिलो संस्करण गरेको चुलाचुली रंगमञ्चले कोरोनाका कारण तीन वर्षसम्म अर्को संस्करण गर्न सकेन। यसपटक पूर्व–पश्चिम राजमार्गस्थित दमक बजारदेखि करिब आठ किलोमिटर उत्तरमा रहेको चुरेको यो जंगलमा नाट्य उत्सव भइरहेको छ। 

उत्सवमा नाटक मञ्चनसँगै, चित्रकला पनि हुनेछ। नाटकको कार्यशाला र चित्रकलाको पनि कार्यशाला भइरहेको अध्यक्ष आङ्थुपुले बताए। स्थानीयमा नाटक हेर्ने संस्कार विकासका लागि पनि नाट्य उत्सव गरिएको उनले बताए।

०६५ सालमा चुलाचुलीका युवा मिलेर ‘नयाँ बाटो, नयाँ पाइला’ नामक नाट्य समूह स्थापित गरेर यहाँका चुलाचुली रंगमञ्चले ‘जग’ बसाएको थियो। 

०७० मा चुलाचुली रंगमञ्चको नाममा दर्ता भएर काम गर्दै आएको छ। यो रंगमञ्चले राजधानी र राजधानीबाहिरका विभिन्न नाट्य उत्सवमा नाटक मञ्चन गरेर आफ्नो पहिचान स्थापित गरिसकेको छ। चुलाचुली रंगमञ्च विशेषतः भाषिक–सांस्कृतिक नाटकका लागि स्थापित भइसकेको छ।