१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रशासनको निर्देशनले पनि रोकिएन बिदाको दिन सरकारी गाडीको दुरुपयोग

हरेक शनिबार वा बिदाको दिन उपत्यकाभित्र सरकारी गाडीको दुरुपयोग बढ्दो, ट्राफिकको कारबाही मुख्य सडकमा सीमित

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:५१:oo

सरकारले सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारीसाधन चलाउन रोक लगाए पनि त्यसको दुरुपयोग रोकिएको छैन । गृह मन्त्रालयले गत जेठयता दुईपटक सर्कुलर जारी गरेर सरकारी गाडी दुरुपयोग नगर्न निर्देशन दिएको थियो । तैपनि सरकारी कर्मचारी तथा अधिकारीहरूले व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडीको दुरुपयोग गर्दै आएका छन् । 

गृह मन्त्रालयले ट्राफिक प्रहरी कार्यालयहरूलाई सार्वजनिक बिदाको दिन गुड्ने सवारीसाधनलाई कारबाही गर्न निर्देशन दिएपछि ट्राफिक प्रहरी चेकिङ कडाइ गरेको छ । तर, फाट्टफुट्ट सरकारी गाडी सडकमा देखिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

उनले पहिलेको तुलनामा सरकारी गाडीको दुरुपयोग केही कम भए पनि भित्री सडकको प्रयोग गरेर सरकारी गाडी व्यक्तिगत कामका लागि दुरुपयोग गर्ने प्रवृत्ति नहटेको बताए । ‘बिदाको दिन सडकमा जथाभावी सरकारी गाडी भेटिन्न, तर केहीले सरकारी गाडी दुरुपयोग पनि गरेका छन् । त्यस्तो भेटिएमा ट्राफिक प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘कहीँकतै सरकारी गाडीको दुरुपयोग भएको भेटिएमा ट्राफिक प्रहरीलाई जानकारी गराउनुहोला ।’ 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार वा अन्य बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्नेलाई प्रहरीले ठाउँठाउँमा रोकेर कारबाही गर्छ । तर, भित्री सडकहरूको प्रयोग गरेर सरकारी गाडी दुरुपयोग भइरहँदा त्यसमा कारबाही गर्न नसकिएको उनको भनाइ छ । ‘सरकारी गाडीको दुरुपयोग रोकिएको छैन, ठाउँठाउँमा ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ,’ उनले भने, ‘हामीले नाका र मुख्य सडकमा कडाइ गरेका छौँ ।’ उनका अनुसार भित्री सडकमा ट्राफिक परिचालन गर्न पर्याप्त जनशक्ति छैन । 

डिआइजी टेकप्रसाद राई, 
प्रवक्ता, नेपाल प्रहरी

बिदाको दिन सडकमा जथाभावी सरकारी गाडी भेटिन्न, तर केहीले सरकारी गाडी दुरुपयोग पनि गरेका छन् । त्यस्तो भेटिएमा ट्राफिक प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छौँ । कहीँकतै सरकारी गाडीको दुरुपयोग भएको भेटिएमा ट्राफिक प्रहरीलाई जानकारी गराउनुहोला ।

सार्वजनिक बिदा वा शनिबार उपत्यका छिर्ने नाकाहरूमा सरकारी नम्बर प्लेटका कार भेटिने गरेका छन् । शनिबार उपत्यकाका थानकोट, चोभार, साँखु, जगातीलगायत नाकामा १० वटा सरकारी गाडी र १२ वटा सरकारी मोटरसाइकललाई प्रहरीले कारबाही तथा सोधपुछ गरेर छाडेको छ ।

बिदाको दिन सरकारी गाडीको दुरुपयोग बढेपछि प्रहरी प्रधान कार्यालयले अन्य चेकिङसँगै सरकारी गाडीलाई पनि चेकिङ गर्न निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक शनिबार वा बिदाको दिन उपत्यकाभित्र सरदर १०–१२ वटा सरकारी गाडी र १२–१५ वटा मोटरसाइकल व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएको भेटिएका छन् । यसबाहेक भित्री सडक तथा ट्राफिक प्रहरीलाई छलेर सरकारी सवारीसाधन दुरुपयोग गर्नेको संख्या पनि बढ्दो छ । 

महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाका इन्स्पेक्टर नेत्रप्रसाद भट्टले तीन महिनाको अवधिमा ६–७ वटा कार र ९–१० वटा मोटरसाइकल पक्राउ गरेको बताए । जिल्ला प्रशासनको पास नलिई हिँडेका उनीहरूलाई सवारीसाधन होल्ड गरेर कार्यालय खुलाएको दिन जिम्मा लगाइएको थियो । ‘बिदा वा शनिबार पास नलिई हिँड्ने सरकारी नम्बर प्लेटका गाडीलाई कारबाही गरिरहेका छौँ, तर अन्य चेकजाँच पनि गर्नुपर्ने भएकाले यसमा कडाइ गर्न सकिरहेका छैनौँ,’ उनले भने ।

सरकारी गाडीमाथि के कारबाही हुन्छ ? 
दुरुपयोग भएका सरकारी गाडी ट्राफिक प्रहरीले प्रहरी नियन्त्रणमा लिएर नजिकको ट्रापिक तथा प्रहरी युनिटमा होल्ड गर्छ । छुट्टै चालक भएको सरकारी अधिकारीको गाडीमा चालकलाई कारबाही गर्दैन । गाडीको चाबी नियन्त्रणमा लिएर होल्ड गर्छ । स्वयं सरकारी अधिकारीले हाँकेका छन् भने ट्राफिकले लाइसेन्स माग्ने वा होल्ड गर्ने काम गर्छ ।

तर, चिट काट्न वा अन्य ठूला कारबाही भने ट्राफिकले गर्दैन । दुरुपयोग भएको ठहर भएपछि होल्ड गरेर कार्यालय खुलेको दिन जिम्मा लगाइन्छ । त्यसमा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर गुडाएको भेटिएमा ट्राफिकले कारबाही गर्दैन । तर, पास नलिई चलाएको पाएमा गाडी रोकाएर होल्ड गराइन्छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारी कर्मचारीले आ–आफ्ना परिवार तथा आफन्त छाड्न जाने, कुनै व्यक्तिगत काममा निस्कनेजस्ता सवारीसाधनलाई कारबाही हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

कडाइ गर्न जिल्ला प्रशासनको निर्देशन
बिदाको दिन सरकारी गाडीको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाई गर्न प्रहरीलाई निर्देशन दिएको छ । जिल्ला प्रशासनबाट पास नलिई हिँडेकालाई कारबाही गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । ‘सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्न पाइन्न,’ उनले भने, ‘यदि प्रयोग गर्नुपरेमा प्रशासनको अनुमति लिनुपर्छ ।’ 


 

ad
ad