१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ८ आइतबार ०८:२२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला टी–२० क्रिकेट : सुदूरपश्चिम च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ८ आइतबार ०८:२२:००

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । शनिबार इटहरीस्थित जनता क्रिकेट पार्कमा सम्पन्न फाइनल खेलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम अपराजित रहँदै पहिलोपटक उपाधि जित्न सफल भएको हो । च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।

उपविजेता प्रदेश १ ले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रदेश १ ले सेमिफाइनलमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई आठ विकेट तथा सुदूरपश्चिमले मधेस प्रदेशलाई एक सय ८१ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए । 

सम्झना र डलीको बलियो साझेदारी 
मध्यक्रमका ब्याट्सवुमन सम्झना खड्का र डली भट्टले बलियो साझेदारी गरेपछि सुदूरपश्चिम एक बलअघि विजयी भयो । प्रदेश १ ले प्रस्तुत गरेको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले चार विकेट गुमाउँदै भेट्टाएको थियो । सुदूरपश्चिमका लागि प्लेयर अफ दी म्याच सम्झना खड्काले अविजित २७ रन बनाइन् ।

सम्झनाले ३३ बलमा चार चौका प्रहार गरेकी थिइन् । डली भट्टले १६ बलमा एक चौका र दुई छक्कासहित २२ रन जोडिन् । कविता जोशीले अविजित १९ र कविता कुँवरले १२ रनको योगदान गरे । कप्तान बिन्दु रावल र तेस्रो क्रमकी रुवि पौडेलले दोहोरो अंक बनाउन सकेनन् । चौथो विकेटका लागि डली र सम्झनाले ३५ रनको साझेदारी गरेका थिए । यसैगरी, सम्झना र कविताले अविजित ३० रनको साझेदारी गरेपछि सुदूरपश्चिम सहज जित निकाल्न सफल भएको थियो ।  

चलेन प्रदेश १ को ब्याटिङ
यसअघि टस जितेर ब्याटिङ राजेको प्रदेश १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय एक रनको योगफल तयार पारेको थियो । ओपनर काजल श्रेष्ठबाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसकेपछि प्रदेश १ को ब्याटिङ धरमराएको थियो । प्रदेश १ का लागि ओपनर काजलले ६३ बलमा आठ चौकाको मद्दतमा अविजित सर्वाधिक ४८ रन जोडिन् । अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन मात्रै जोडेका थिए । चौथो नम्बरमा क्रिजमा आएकी सबनम राई शून्यमा पेभिलियन फर्किइन् । 

यसैगरी, लकिता राजवंशी, स्मृति कटुवाल र संगीता राईले दोहोरो अंक जोड्न सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि मनीषा चौधरीले दुई विकेट लिइन् । उनले चार ओभरमा १८ रन खर्चिन् । यसैगरी, ऋतु कनोजियाले चार ओभरमा आठ रन खर्चिंदै एक विकेट लिएकी थिइन् । प्रतियोगितामा सात प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरी आठ टोलीको सहभागिता थियो ।

कविता सर्वाेत्कृष्ट खेलाडी
सुदूरपश्चिम प्रदेशकी ओपनर तथा ब्याट्सवुमन कविता कुँवर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सवुमन घोषित भएकी छिन् । प्रतियोगितामा उनी सुनसरी प्लेयर अफ दी च्वाइस घोषित भइन् । कविताले सर्वाेत्कृष्ट खेलाडी बनेबापत जनही ३० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सवुमनबापत २० हजार रुपैयाँ तथा ‘सुनसरी प्लेयर अफ दी च्वाइस’ घोषित भएबापत एक थान स्कुटी प्राप्त गरेकी छिन् ।

नेपाल खेलकुद महासंघ र जिल्ला क्रिकेट संघ सुनसरीले ‘सुनसरी प्लेयर अफ दी च्वाइस’लाई स्कुटर उपहार दिएको हो ।यसैगरी, प्रतियोगिताको विधागत अवार्डमा समेत सुदूरपश्चिमले कब्जा जमाएको छ । उत्कृष्ट बलर सुदूरपश्चिमकै मनीषा चौधरी भइन् । मनीषाले २० हजार रुपैयाँ प्राप्त गरिन् ।