कञ्चनपुरमा जंगली जनावरको आतंकले स्थानीय सर्वसाधारण मात्र होइन किसान पनि हैरान भएका छन् । ठूला तथा साना जंगली जनावरको आतंक किसानलक्षित रहेको पाइन्छ । हात्तीले मानिसमाथि आक्रमणदेखि भौतिक संरचना नष्ट र अन्नबाली तहसनहस पुर्याउँदै आएको एकातिर समस्या भए पनि साना जनावरका कारण पनि समस्या विकराल बन्दै गएको छ ।
१६ सय १० वर्गकिलोमिटरमा फैलिएको कञ्चनपुरको भूगोल ५५ प्रतिशत अर्थात् आठ सय ८५ वर्गकिलोमिटर वन क्षेत्र रहेको छ । जसमध्ये शुक्लाफाँटा राष्ट्रिय वन्यजन्तु निकुञ्ज मात्रै तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको र बाँकी लालझाडी मोहना, चुरे, सामुदायिक वन रहेको छ। जिल्लाका नाैवटै पालिका निकुञ्ज, वन, चुरे वन, लालझाडी मोहना संरक्षित वन एवं सामदायिक वन क्षेत्रसँग फैलिएका छन् । कुल ३८ प्रतिशत अर्थात् झन्डै ६ सय वर्गकिलोमिटर जमिन खेतीयोग्य छ ।
आधाजति खेतीयोग्य जमिन कुनै न कुनै वनजंगल क्षेत्रसँग जोडिएको छ। हरेक सिजनमा वनक्षेत्रसँगै जोडिएका खेतबारीमा जंगली जनावरको आतंक कायमै छ । किसानलाई एकातिर ठूला जनावरमा ज्यान जोगाउन समस्या छ, भने अर्कातिर साना जनावरबाट अन्नबाली (खेती) जोगाउन मुस्किल परेको छ ।
शुक्लाफाँटा, लालझाडी, सामुदायिक, चुरेसहितका वनबाट कुनै पनि वेला खेतमा पस्ने जनावरले अन्नबाली नष्ट गरिदिन थालेपछि किसान हैरान मात्रै होइन आफ्नो बारी हुँदासमेत खरिद गरेर खान बाध्य भएका छन्। शुक्लाफाँटा निकुञ्जको चारैतिर बस्ती छ। निकुञ्जको उत्तरमा भीमदत्त, बेदकोट, दक्षिणमा बेलडाँडी–बेलौरी, पूर्वमा लालझाडी, शुक्लाफाँटा र पश्चिममा दोधाराचाँदनी गाउँबस्ती छन्। निकुञ्जबाट गाउँ पस्ने जनावरका कारण किसान सबैभन्दा बढी मारमा परेका छन् ।
सबै प्रकारका वनसँग जोडिएका बस्तीमा स्थानीय किसानले जनावरबाट अन्नबाली जोगाउन रातभरि जाग्राम बस्नेदेखि खेतभरि मानिसका डमी बनाउन बाध्य भएका छन्। निकुञ्जसँगै जोडिएको भीमदत्त नगरपालिका– १३ पिपरैयाका किसान पनि रातभर जंगली जनावर धपाउन केन्द्रित हुने गरेका छन्। पिपरैयाका स्थानीय महेश भट्टले निकुञ्जबाट आउने जनावरले अन्नबाली नष्ट गरिदिने भएपछि किसान रातभर जाग्रम बस्न बाध्य भएको बताए ।