
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले पोखरामा भएको हवाई दुर्घटनाबारे संसद्लाई जानकारी गराउन माग गरेसँगै मन्त्री किराँतीले सोबारे जानकारी गराएका हुन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको प्रस्ट पारे ।
माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ जनामध्ये ७१ शव फेला परेको मन्त्री किराँतीले संसद्लाई जानकारी गराए । अझै एक शिशुको शव खोजीकार्य जारी रहेको उनले बताए । सरकारले खोजीकार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बललगायतका निकायलाई निरन्तर खटाएको संसदमा जानकारी गराए ।