
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार सदनप्रति उदासीन, पीडित परिवारप्रति निरपेक्ष र जनताप्रति कर्तव्यविमुख हुन नमिल्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरूको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको बताए । विमान दुर्घटनाबारे उठेका सबै पक्षको सम्बोधन गर्न सरकारलाई निर्देशन गर्न पनि उनले सदनको ध्यानाकर्षण गराए ।
‘अधिवेशन चालू छ, संसद्को बैठक बसिरहेको छ । यत्रो ठूलो दुर्घटना भइसकेपछि आजको बैठकमा सरकार यो विषयमा प्रवेश हुनेछ भन्ने थियो, जानकारी गराउँछ के भइरहेको थियो भन्ने थियो । तर, जानकारीका साथ सरकार उपस्थित हुन सकेन । आजको कार्यसूचीमा यो कुरा छैन । आजका कार्यसूचीका विषयहरू स्थगन गरी वा केही समय पर सारेर सदनलाई जानकारी गराउनुपर्छ,’ उनले भने ।