मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ माघ ५ बिहीबार १०:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा अवैध रूपमा सञ्चालित दुई क्रसर उद्योग बन्द

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ माघ ५ बिहीबार १०:३०:००

गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन गरेपछि संखुवासभामा अवैध रूपमा सञ्चालित दुईवटा क्रसर उद्योग बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले नियमविपरीत सञ्चालनमा रहेका दुईवटा क्रसर उद्योग बन्द गराएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी  दिए ।

उनका अनुसार गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाको खाँदबारी नगरपालिका– ९ स्थित तुम्लिङटार र चैनपुर नगरपालिका– १० खहरेमा सञ्चालित दुईवटा क्रसर बन्द गराएकाे हाे ।

गृह मन्त्रालयको परिपत्रको पालना गर्दैै नियमविपरीत सञ्चालनमा रहेका क्रसर पुस २२ गतेदेखि बन्द गरिएको सहायक प्रजिअ घिमिरेको भनाइ छ । अवैध रूपमा सञ्चालनमा रहेका दुईवटा क्रसर उद्योग बन्द गरिए पनि हाल संखुवासभामा १९ वटा क्रसर उद्योग सञ्चालनमा छन् । विकास निर्माणका लागि ठूला आयोजना सञ्चालन गर्न ती क्रसर उद्योग सञ्चालनमा रहेको घिमिरेले बताए । 

विकास निर्माणका लागि ठूला आयोजना सञ्चालन गर्न निश्चित अवधिका लागि क्रसर उद्योग जिल्लामा सञ्चालन गर्न पाउने नियम छ । सोही नियमलाई टेकेर क्रसर उद्योग सञ्चालनमा रहेको प्रशासनले जनाएको छ । 

जिल्लामा ढुंगा, गिट्टी र बालुवा उत्खनन‚ बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ विपरीत क्रसर सञ्चालन हुँदै आएका थिए । वन तथा वातावरण ऐनअन्तर्गत सामुदायिक वन क्षेत्रभित्र वातावरणमा प्रभाव पर्ने गरी क्रसर सञ्चालन गर्न नपाइने नियम छ । यता निर्माण व्यवसायी संघले भने क्रसर उद्योग सञ्चालन गर्न नदिने हो भने कुनै पनि निर्माण कार्य सम्पन्न गर्न नसकिने भन्दै विरोध जनाउँदै आएका छन् ।