१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ ५ बिहीबार ०८:००:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

११८ वर्षीया विश्वकै वृद्धाको निधन

Read Time : > 1 मिनेट
२०७९ माघ ५ बिहीबार ०८:००:००

विश्वकै सबैभन्दा वृद्धा व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको एक सय १८ वर्षको उमेरमा निधन भएको छ । सन् १९४४ मा भिक्षुणी बनेपछि सिस्टर एन्ड्रे नाम धारण गरेकी रान्डनको फ्रान्सको टुलोनस्थित उनकै नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनी दुई विश्वयुद्धको साक्षी थिइन् । उनले आफ्नो जीवनको अधिकांश समय क्याथोलिक धर्मको सेवामा समर्पित गरिन् । उनले आफ्नो दीर्घायुको रहस्य ‘भगवान्लाई मात्र थाहा भएको’ जवाफ पत्रकारहरूलाई दिएकी थिइन् ।रान्डनको नर्सिङ होमका प्रवक्ता डेभिड ताभेलाले मंगलबार सञ्चारकर्मीलाई उनको मृत्युको खबर सुनाएका थिए । ‘यो निकै दुःखद खबर हो तर प्रिय भाइसँग सामेल हुने उनको चाहना थियो । उनको लागि यो एक मुक्ति हो,’ ताभेलाले भने ।

टुर डे फ्रान्स नामक चर्चित वार्षिक साइकल दौड प्रतियोगिता सुरु भएको एक वर्षपछि जन्मिएकी सिस्टर एन्ड्रेले फ्रान्सका २७ राष्ट्र प्रमुख देखिन् । आफ्ना भाइहरूसित सिस्टर एन्ड्रेको निकै आत्मीय सम्बन्ध थियो । उनले एकपटक पत्रकारहरूलाई आफ्ना भाइहरूको पहिलो विश्वयुद्ध सकिएपछिको सुरक्षित फिर्ती आफ्ना लागि सबैभन्दा स्मरणीय रहेको बताएकी थिइन् । ‘यो दुर्लभ थियो’ उनले स्मरण गरेकी थिइन्, ‘परिवारहरूमा सामान्यतया दुई जीवितभन्दा दुईजना मृत थिए ।’

दृष्टिविहीन र ह्विलचेयरमा निर्भर रहे पनि सिस्टर एन्ड्रे अन्य वृद्धहरूको हेरचाहमा रहन्थिन्, जसमध्ये अधिकांश उनीभन्दा कम उमेरका थिए । गत अप्रिलमा एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मानिसहरूले भन्छन् कि कामले मार्छ, मलाई त कामले नै जीवित राखेको छ । म एक सय आठ वर्षको उमेरसम्म काम गरिरहेको छु ।’

सन् २०२१ मा उनी कोभिड १९ बाट निको हुने विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी थिइन् । सिस्टर एन्ड्रे प्रोटेस्टेन्ट परिवारमा जन्मिएकी थिइन् । तर, पछि उनी २६ वर्षको हुँदा औपचारिक रूपमा दीक्षा लिनुअघि क्याथोलिक धर्ममा दीक्षित भइन् । 
सिस्टर एन्ड्रेको निधनसँगै अब अमेरिकाकी मारिया ब्रानयास मोरेरा संसारको वृद्ध व्यक्ति बनेकी छिन् । सन् १९०७ को ४ मार्चमा क्यालिफोर्नियामा जन्मिएकी उनी हाल स्पेन बस्छिन् । उनी ११५ वर्ष भइन् ।