Skip This
प्रधानमन्त्री प्रचण्डले मागे सुझाव - संवैधानिक पदमा कांग्रेसलाई समेट्नुपर्छ कि पर्दैन ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Tuesday, 13 May, 2025
कमलराज भट्ट काठमाडौं
२o७९ माघ ३ मंगलबार १९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले मागे सुझाव - संवैधानिक पदमा कांग्रेसलाई समेट्नुपर्छ कि पर्दैन ?

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १९:o५:oo

प्रधानमन्त्री प्रचण्डले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै संवैधानिक पदहरूमा कांग्रेसलाई पनि समेटेर लैजान सकिने/ नसकिने धारणा मागेका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका हुन्। 

‘प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्तासाझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव माग्नुभएको थियो,’ बैठकमा सहभागी एक नेताले बताए।

ती नेताका अनुसार प्रधानमन्त्रीले आफू सत्तासाझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषद्ले पूर्णता पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा राखेका थिए। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए। 

उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताएका थिए। 

बैठकमा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, एकीकृत समाजवादीलगायत सरकारलाई विश्वासको मत दिएका दलका शीर्ष नेताहरूले धारणा राखेका थिए। 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, एमालेबाट अध्यक्ष केपी ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए।