१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उपाधिका लागि संकटा र भुट्निज स्पोर्टस् भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o६:oo

पाँचौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि संकटा क्लब र अमेरिकाको भुट्निज स्पोर्टस्बीच प्रतिस्पर्धा हुने भएको छ । मकवानपुरमा सञ्चालन भइरहेको प्रतियोगिताको आइतबार अन्तिम सेमिफाइनलमा घरेलु टोली मकवानपुर–११ लाई २–० ले हराउँदै संकटाले फाइनल स्थान सुरक्षित गरेको छ । जितसँगै संकटाले उपाधि भिडन्त भुट्निज स्पोर्टस्विरुद्ध पक्का पारेको हो । यसअघि शनिबार जावलाखेल युथ क्लबलाई हराउँदै भुट्निज फाइनल पुगेको थियो ।

प्रतियोगिताको फाइनल खेल ३ माघमा हुनेछ । यस सिजनमा संकटा दोस्रो उपाधिनजिक पुगेको छ । दुई साताअघि संकटाले पोखरामा आहारारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । नयाँ सिजनमा संकटाले आक्रामक रूपमा राम्रा खेलाडी भित्र्याउँदै टोली बलियो बनाएको छ । संकटाले १९ फागुनदेखि हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधि दाबेदारी दिने उद्देश्यका साथ टोली बलियो बनाएको हो । 

डिफेन्डर थिएरी नायक
मकवानपुरमा संकटालाई अन्तिम दुई स्थान दिलाउने क्रममा डिफेन्डर यान्डेभ थिएरीले दुई गोल गरेका थिए । उनले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेका हुन् । खेलको १६औँ मिनेटमा संकटाले थिएरीको गोलसँगै अग्रता लियो । सुनील बलको कर्नरमा थिएरीले डिबक्सभित्रबाट उत्कृष्ट गोल गरे । पहिलो हाफमा संकटा १–० मै सीमित भयो । यद्यपि, संकटाले थप गोल प्रयास नगरेको होइन । मध्यान्तरपछि घरेलु टोली मकवानपुरले सुधार गर्न सकेन । संकटाको एकपक्षीय दबाब सामना गरेको मकवानपुरले खेलको ६१औँ मिनेटमा २–० ले पछि पर्‍यो । थिएरीले यसपटक पनि सुनीलकै कर्नरमा हेडिङ गोल गरेका थिए ।

संकटाको जितमा महत्वपूर्ण योगदान दिएका थिएरीले खेलको म्यान अफ दी म्याच हुँदै पाँच हजार रुपैयाँ हात पारे । बागमती खेलकुद विकास समितिको अयोजनामा जारी प्रतियोगिताका विजेताले आठ लाख र उपविजेता टोलीले चार लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ हात पार्नेछन् । 

ad
ad