१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अफलाइन राइडरद्वारा आपराधिक गतिविधि : खारेज गरिँदै अफलाइन राइडरको दर्ता

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३९:oo

गत मंगलबार एक महिलाले बिजुलीबजारस्थित औषधि विभागबाट प्रहरीको १०० नम्बरमा फोन गर्दै आफू पठाओ राइडरबाट लुटिएको जानकारी गराइन् । उनको केस कोटेश्वर प्रहरीकहाँ पुग्यो । प्रहरीले सोधपुछ गर्दा अफलाइन पठाओ राइडरले अचेत बनाई आफूसँग भएका सबै सामान लुटेको तथा कुटपिट गरेको बताइन् । 

कोटेश्वर प्रहरीका अनुसार २४ वर्षीया ती महिलाले भीमसेनागोलाबाट थापागाउँ जान अफलाइन पठाओ राइडर प्रयोग गरेकी रहिछिन् । स्कुटरचालकले आफू पठाओ राइडर भएको बताएपछि उनले अफलाइन नै राइडर प्रयोग गरिछिन् । यात्रा सुरु भएको ६ सय मिटर पर पुगेपछि चालकले स्कुटी रोके र पसलमा गएर पानी किने । आफूले पनि पानी पिए र ती महिलालाई पनि दिए । पानी पिइसकेपछि ती महिलाले केही कुरा थाहा नपाएको बताएको कोटेश्वर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकले जंगलजस्तो बाटो भएको ठाउँमा लगेर लुटपाट गरेका छन् । चार–पाँचजना साथीलाई बोलाएर समान लुटेर आफूलाई कुटपिटसमेत गरेको उनले बयान दिएकी थिइन् ।

उल्लिखित घटना प्रतिनिधि घटना मात्रै भएको कोटेश्वर प्रहरी कार्यालयका डिएसपी निशान्त श्रीवास्तवले बताए । उनका अनुसार पछिल्लो समयमा अफलाइन राइडरद्वारा यात्रुलाई लुट्ने र कुटपिट गर्ने गुनासो प्रहरी कार्यालयमा धेरै आउन थालेको छ । 

घटनापछि सोही राति प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट एक सय २२ जना अफलाइन राइडरलाई समातेको थियो । समातिएका राइडरलाई अफलाइन राइड कानुनी रूपमा अवैध भएको जानकारी दिएर छाडिएको नेपाल प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।  

आपराधिक घटना हुन नदिन अफलाइन राइडरलाई निरुत्साहित गरेका छौँ : दिनेश मैनाली प्रहरी उपरीक्षक, नेपाल प्रहरी
अफलाइन राइडरबाट हुन सक्ने सम्भावित घटनालाई कम गर्न अफलाइन राइडरलाई निरुत्साहित गरेका छाैँ । ठाउँ–ठाउँमा बस्ने अफलाइन राइडरलाई हामीले सचेत पनि गराएका छाैँ । 

त्यस्तै, प्रहरीले राइड सेयरिङ कम्पनी पठाओलाई पनि छलफलका लागि बोलाएको थियो । छलफलपछि अफलाइन राइडर भेटिएमा उनीहरूकोे दर्ता खारेजी गरिने सहमति भएको कोटेश्वर प्रहरी कार्यालयका डिएसपी श्रीवास्तवले बताए । 

जोखिमपूर्ण अफलाइन राइड

यात्रा गर्न सहज हुने भएपछि पछिल्लो समयमा राइड सेयरिङ अभ्यास बढ्दै गएको छ । तर, यसमा पनि अझ फाइदा र सुविधाका लागि अफलाइन राइड सेवा दिने र लिनेको संख्या बढेसँगै आपराधिक गतविधि बढ्न थालेको प्रहरीको भनाइ छ । 

कम्पनीमा आबद्ध भएका राइडरले यात्रुबाट लिएको शुल्कको निश्चित प्रतिशत कम्पनीलाई भुक्तानी गर्नुपर्ने हुन्छ । तर, सो कमिसन शुल्क भुक्तानी गर्नुनपरोस् भनी केही राइडरले अफलाइन सेवा दिन थालेका छन् । त्यसैगरी, बाटो–बाटोमा डेटा खोलेर राइडर खोजिरहनुपर्ने झन्झटबाट मुक्त हुने भएपछि यात्रुले पनि अफलाइन राइडरलाई सहज लिन थालेका छन् । चोक–चोकमा भेटिने राइडर र यात्रुबीचको सहमतिमा यात्रा सम्पन्न हुन थालेको छ । यसले दुवै पक्षलाई थोरै फाइदा गरे पनि जोखिम भने अत्यधिक हुने प्रहरीको भनाइ छ । 

कुनै निश्चित कम्पनीसँग जोडिएका राइडरले अनिवार्य रूपमा अनलाइन राइडर सेवा प्रदान गर्नुपर्ने हुन्छ । अनलाइन सेवा दिँदा उसको सबै विवरण सम्बन्धित कम्पनीसँग हुन्छ । राइडरले यात्रु रिसिभ गरेको स्थान, उतारेको स्थान, यात्रुबाट लिएको शुल्कसम्मको विवरणसमेत सम्बन्धित कम्पनीमा रेकर्ड हुन्छ । त्यति मात्रै नभएर कम्पनीले सञ्चालनमा ल्याएको एप्लिकेसनमा राइडरले कस्तो सेवा दियो भनेरसमेत स्कोर गर्न सकिन्छ । त्यति मात्रै नभएर राइडरको विषयमा कुनै उजुरी पनि दिन सकिने व्यवस्था छ । त्यस्तै, अनलाइन राइडरले दुर्घटना हुँदाको बखत कम्पनीहरूले बिमाको सुविधासमेत दिएका छन् ।

तर, राइडरले अफलाइन हुदा कम्पनीसँग सम्बन्धविच्छेद नै हुने भएकाले राइडरले के–के गर्‍यो भन्ने जानकारी नहुने पठाओका प्रवक्ता शंशाकशमशेर थापाले बताए । उनका अनुसार कम्पनीसँग राइडर अनलाइन हुँदाको अवस्थामा मात्रै सम्पर्क भइरहन्छ । त्यसैले राइडर अफलाइन हुँदा हुने कुनै पनि घटनाको कम्पनीलाई जानकारी नहुने उनले बताए ।

त्यस्तै, कोटेश्वर प्रहरी कार्यालयका डिएससी श्रीवास्तवका अनुसार अफलाइन राइडरलाई खोजी गर्नसमेत कठिन हुने बताए । अनलाइन भएको अवस्थामा कम्पनीबाट नै विवरण लिन सकिने भएपछि अफलाइन हुँदा भने खोजी गर्न अलि कठिन हुने बताए । 

अफलाइन राइडर खोजी गर्दै प्रहरी
नेपाली प्रहरीले अफलाइन राइडरको खोजी गर्न थालेको छ । आगामी दिनमा ठूला आपराधिक घटना नघटून् भनेर हामीले अफलाइन राइडरको खोजी गरिरहेको नेपाली प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए । ‘घटना घट्नुभन्दा पनि घट्ना घटन नदिनका लागि हामी चनाखो बनेका छौँ,’ उनले भने ।

उनका अनुसार राइडरहरूको शैक्षिकस्तर कमजोर हुँदा पनि अफलाइन राइडबाट हुन सक्ने जोखिमको विषय जानकारी नभएको हुन सक्ने बताए । त्यसैले पनि प्रहरीले राइडरको खोजी गरी कानुनी विषयमा पनि जानकारी दिने गरेको छ । 

कोटेश्वर प्रहरी कार्यालयका डिएसपी निशान्त श्रीवास्तवका अनुसार गत मंगलबारको घटनापछि मात्रै प्रहरीले एक सय २२ जना अफलाइन राइडरलाई समातेको थियो । हिजो राति पनि सातजना अफलाइन राइडरलाई समातेर पठाओमा उनीहरूको विवरण पठाइएको उनले बताए । त्यस्तै, पठाओले उनीहरूको दर्ता खारेजी गरेको सूचनासमेत पठाइसकेको उनले बताएका छन् । त्यस्तै, अन्य प्रहरी कार्यालयले पनि यस्ता अफलाइन राइडरको खोजी गरेको उनले बताए । 

नेपालमा राइड सेयरिङको सेवाका लागि पठाओ, टुटल, इनड्राइभर, सहारा, ट्याक्सीमान्डु, जायर, जाउगुरुजस्ता कम्पनी सञ्चालनमा आएका छन् । यी कम्पनीले एप्लिकेसनमार्फत राइडर र यात्रुको भेट गराउँछन् । केही कम्पनीले बिमालगायतका सुविधा पनि दिएका छन् । पठाओले एक लाख रुपैयाँबराबरको औषधि र १० लाख रुपैयाँबराबरको दुर्घटना बिमा सुविधा दिएको छ । तर, अफलाइन राइड गर्दाको अवस्थामा हुने कुनै पनि घटनामा कम्पनी जवाफदेही नहुने कम्पनीले जनाएको छ । त्यसैले अफलाइन राइडरबाट सेवा नलिन पठाओले यात्रुलाई आग्रह गरेको छ । 
 

ad
ad