मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Friday, 03 January, 2025
रासस काठमाडौँ
२o७९ पौष ३० शनिबार १३:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको ‘पूर्वाधार एम्बुलेन्स’ले पाएन काम

Read Time : > 1 मिनेट
रासस, काठमाडौँ
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार १३:oo:oo

काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीनजस्तै भएको छ । ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै महानगरले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।

सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो । अहिले चार–पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको महानगरको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए ।उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ । त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउँछ । नागरिकले महानगरको टोल फ्रि नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन् ।

सुरुमा महानगरले वातावरण विभागको दुई वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरेको हो । तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो । अहिले दुईमध्ये एक बिग्रिएको छ भने अर्को एउटाले पनि काम पाउन सकेको छैन । ‘चार–पाँच दिनमा एउटा गुनासो आउँछ’, विभागका प्रमुख थापाले भने ।

विशेष गरी महानगर क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोको तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो । बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र महानगरले आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले  पूर्वाधार एम्बुलेन्सले काम नपाएको प्रमुख थापाको भनाइ छ ।

नगन्यरुपमा आएको गुनासो महानगरका इन्जिनियर र कामदारसहित तीनजनाको टोली टोल–टोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन् । अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको जनाइएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि महानगरले बिहान र साँझमात्र यस्ता काम गर्न थालेको छ ।

त्यसैगरी सडक सफा राख्न महानगरको यान्त्रिक कुचो (ब्रुमर) नियमित सञ्चालमा छ । हाल महानगरमा छ यान्त्रिक कुचो सञ्चालनमा छन् । फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकास र बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापनजस्ता काम अहिले नियमितरुपमा भइरहेका छन् ।