१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष २९ शुक्रबार ११:३५:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

रहेनन् शरद यादव, उनी भन्थे- भारतले नेपालको अप्ठ्यारो फुकाउनुपर्छ 

Read Time : > 3 मिनेट
२०७९ पौष २९ शुक्रबार ११:३५:००

भारतको जनता दल युनाइटेडका पूर्वअध्यक्ष शरद यादवको निधन भएको छ। गुरुग्रामस्थित फोर्टिज मेमोरियल रिसर्च इन्स्टिच्युटमा उपचारका क्रममा ७५ वर्षको उमेरमा उनको निधन भएको हो।

बिहीबार राति करिब पौने ११ बजे उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, नेता राहुल गान्धी, बिहारका मुख्यमन्त्री नीतीश कुमार, उनका सदाबहार मित्र सुधीन्द्र भदोरिया, बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलगायतले गहिरो शोक व्यक्त गरेका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले यादवको निधनप्रति समवेदना व्यक्त गरेका छन्।

लामो समयदेखि उनी र बिहारका मुख्यमन्त्री नीतीश कुमार साथमा थिए, तर नीतीशले भाजपासँग पछिल्लो समयमा सत्ता साझेदारी गरेपछि यादवले अलग पार्टी खोले। नेपालबाट १९९९ मा इन्डियन एयरलाइन्सको जहाज अपहरण हुँदा यादव नागरिक उड्डयनमन्त्री थिए। यादवले दुबई पुगेर अपहरणकारीहरूको पञ्जाबाट निस्कन सफल भारतीयहरूलाई स्वागत गरेका थिए।

यादव नेपालका पुराना मित्र र शुभचिन्तक थिए। उनको नेपालका सबै शीर्ष नेतासँग नजिकको मित्रवत् सम्बन्ध थियो। नेपालमा ०४६ र ०६२ सालको जनआन्दोलनमा उनीसहितका नेताले नेपालका पक्षमा ऐक्यबद्धता जनाएका थिए। नेपालमा आन्दोलनका पक्षमा भारतको राजनीतिक तहमा माहाेल बनाउन यादव, डिपी त्रिपाठी, सीताराम येंचुरी, सुधीन्द्र भदोरिया, केसी त्यागीलगायतका नेताले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

नेपालमा २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको बीचमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संयोजन गरेको सर्वदलीय बैठकमा उनले नेपालको पक्षमा बोलेका थिए। उनले नेपाललाई परेको अप्ठ्यारो तत्कालै फुकाउनुपर्ने धारणा राखेका थिए। प्रचण्ड नेतृत्वको पहिलो सरकार ढलेपछि माओवादी र भारतको संस्थापन पक्षबीच चिसिएको सम्बन्ध सुधारको प्रयास यादवले नै गरेका थिए। संविधान जारी हुनुअघि माओवादी अध्यक्ष (हालका प्रधानमन्त्री) पुष्पकमल दाहाल प्रचण्ड दिल्ली भ्रमणमा जाँदा यादवले उनकै  घरमा विपक्षी नेताहरूको बैठक राखेका थिए। राज्यसभाका सांसद रहेका समयमा यादवसँग नयाँदिल्लीस्थित उनको निवास तुगलग रोड– ७ मा नेपाली नेता, पत्रकार, बुद्धिजीवीको जमघट भइरहन्थ्यो।

मैले शरद यादवसँग ०७२ मंसिर १२ गते नेपालका विषयमा लामो संवाद गरेको थिएँ। त्यतिवेला नेपालले संविधान जारी गरेपछि नेपाल–भारत सीमामा नाकाबन्दी थियो। उनीसँग त्यसवेला संवादको चाँजोपाँजो जनता दल युनाइटेडका प्रधान महासचिव एवं राज्यसभाका तत्कालीन सांसद केसी त्यागीले मिलाइदिएका थिए। त्यसपछि दिल्लीमा उनीसँग समयसमयमा संवाद भइरहन्थ्यो। नेपालप्रति यादवको प्रेम हरेक भेटमा झल्किन्थ्यो।

नाकाबन्दीको समयमा लामो समय रिपोर्टिङका लागि दिल्लीमा रहँदा यादवलाई भेट्न जाँदा उनले सुरुमै भनेको सम्झिन्छु, ‘म नेपालको पुरानो मित्र र शुभचिन्तक हुँ। हाम्रो नेपालसँगको मित्रता सदिऔँ पुरानो हो। नेपालमा पछिल्लो दिनमा विकसित भएका घटनाक्रमप्रति हामी तपाईंहरूजस्तै चिन्तित छौँ। नेपालमा भएका घटनाक्रम राजनीतिक इस्यु हो। यसको समाधान उतैका जनता र नेताले समाधान गर्न सक्छन्।’ नाकाबन्दी भारतबाट भएको भए पनि त्यसको कारण नेपालभित्रको अन्तर्विरोध हो, त्यहाँ नेपालीले नै आपसमा संवाद गरून् भन्ने उनको धारणा थियो। भारतले सीमा अवरोध हटाउनुपर्ने पनि उनको बलियो मत थियो र उनले तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई स्पष्ट रूपमा यो कुरा भनेको सुनाएका थिए। उनी नेपालमा संविधान जारी भइसकेपछि उत्पन्न विवाद नेपालका सबै पार्टी, नेता र जनता मिलेर हल गर्न सुझाव दिन्थे।

‘नेपालको आन्तरिक समस्या दल, जनता र पार्टी मिलेर शीघ्र समाधान गरून्। कुन मोडालिटीमा र कसरी समाधान निकाल्ने, उनीहरूको आपसी सहमतिको विषय हो,’ यादवको भनाइ थियो, ‘यो भारत सरकार वा यहाँका राजनीतिक पार्टीको मामिला वा चिन्ताको विषय होइन। भारत सरकार यसमा संलग्न हुनुहुँदैन। हामी केवल नेपालमा राजनीतिक सहमतिको वातावरण बनोस् र सर्वस्वीकार्य लोकतन्त्र स्थापना होस्, नेपाली जनता खुशी होउन् भन्ने मात्रै चाहन्छौँ।’

मलाई उनले सुनाएअनुसार नाकाबन्दीपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरू (नेपाल डेस्क प्रमुख अभय ठाकुरसहित) उनीहरूलाई भेट्न गएका थिए। ०७२ मंसिर ११ गते थियो। ‘उनीहरूले मलाई नेपालसँगको सम्बन्ध र नेपालको तराईको समस्याबारे विस्तृतमा ब्रिफिङ गरे। म आफैँ पनि नेपाली नेताहरूसँग सम्पर्कमा छु र सरकारी अधिकारीले पनि समस्याबारे विस्तृतमा ब्रिफिङ गरिसकेपछि मैले अझ  विस्तृत जानकारी पाएँ,’ उनले सुनाएका थिए।

‘नेपाल–भारत सम्बन्ध जे–जसरी अगाडि जानुपर्थ्याे, त्यो नहुँदा हामी दुःखी छौँ। भारतीय जनता दुःखी छन्। नेपालमा शान्ति, विकास र लोकतन्त्र एकैसाथ चल्नुपर्छ,’ यादव बारम्बार भन्थे, ‘नाकाबन्दीको परिस्थिति जे–जसरी उत्पन्न भए पनि यसको समाधान हुनैपर्छ। यसका अन्तिम निर्णयकर्ता नेपालका पार्टी हुन्। त्यो दिशामा नेपालका पार्टी जानेछन् भन्ने विश्वास लिनुबाहेक हामीले अरू गर्न सकिने केही छैन। हामी कहीँ कतै संलग्न हुनुहुँदैन । शुभेच्छामा मात्रै सीमित हुनुपर्छ ।’

नेपालका विषयलाई लिएर विदेशमन्त्री सुष्मा स्वराजले संयोजन गरेको सर्वदलीय बैठकमा उनी सामेल थिए । त्यो बैठकमा भएको विषयमा पनि उनले सुनाएका थिए । ‘त्यो बैठकमा मैले भनेँ कि नेपाल हाम्रो सदिऔँ पुरानो मित्र हो । नेपाल अहिले वास्तवमै चिन्ताजनक छ । औषधिसमेत रोकिएको विषयमा भारत सरकार चिन्तित हुनुपर्छ र उसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । भारत सरकारले नेपालसँगको सम्बन्ध सहज बनाउन पहल लिनुपर्छ । नेपालमा शान्ति स्थापना होस्, लोकतन्त्र मजबुत होस्, यसमा भारत सरकारको भूमिका सहयोगी हुनुपर्छ । नेपाली जनताले हामीबाट यो अपेक्षा गरेका छन् ।’

उनी भन्थे, ‘मैले स्पष्ट भनेँ कि हाम्रो सदिऔँ पुरानो मित्रदेश नेपाललाई सरकारले अप्ठ्यारोमा पार्नुहुँदैन । नेपालको अप्ठ्यारो फुकाउन भारतले मद्दत गर्नुपर्छ । राजनीतिक इस्यु नेपालका जनताले समाधान गर्नेछन्, तर भारतले दुई देशबीचको सम्बन्ध राम्रो बनाउनेमा जोड दिनुपर्छ ।’ 

उनी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र मधेसकेन्द्रित पार्टीका नेतासँग निकट सम्पर्कमा थिए । 

यादव नेपालमा उत्पन्न संकटलाई मानवीय हिसाबले हल गर्न सरकारलाई सुझाव दिइरहेको बारम्बार भनिरहेका थिए । उनले यसो भनेको दुई महिनापछि तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीको निर्णायक प्रयासमा नाकाबन्दी हट्यो ।