मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०८:५२:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

बल्खु र पेप्सीकोलामा विस्तार हुँदै वारुणयन्त्रको शाखा, महानगरले यसै वर्ष आठवटा दमकल थप्ने

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०८:५२:००

काठमाडौं महानगरपालिकाले आगलागीको जोखिम कम गर्न थप दुई ठाउँमा वारुणयन्त्रको शाखा विस्तार गर्ने भएको छ । मेयर बालेन्द्र साहको निर्देशनमा बल्खु र पेप्सीकोलामा वारुणयन्त्रको शाखा विस्तार हुन लागेको हो ।

महानगरका अनुसार मेयर साहले बल्खु र पेप्सीकोलामा वारुणयन्त्रको शाखा तत्काल विस्तारका लागि निर्देशन दिएका छन् । महानगरअन्तर्गत विपद् व्यवस्थापन विभागका अनुसार यही आर्थिक वर्षभित्र दुई ठाउँमा वारुणयन्त्रको शाखा विस्तार हुनेछ । ‘मेयरसापको निर्देशनअनुसार शाखा विस्तारसँगै दमकल पनि किन्ने योजना छ,’ विभाग प्रमुख रबिनमान श्रेष्ठले भने । महानगरले चालू आर्थिक वर्षमै सानाठूला गरी आठवटा दमकल, भर्‍याङ, फायर मोटरसाइकल खरिद गर्ने भएको छ । बालाजुमा पनि २८ मंसिरदेखि वारुणयन्त्रको शाखा सञ्चालनमा आइसकेको छ । 

रविनमान श्रेष्ठ, प्रमुख विपत् व्यवस्थापन विभाग, काठमाडौं महानगर
मेयरसापको निर्देशनअनुसार शाखा विस्तारसँगै नयाँ दमकल पनि किन्ने योजना छ । यस्तै, जहाँ साघुरा गल्ली छन् जहाँ हाम्रा दमकल पुग्न सक्दैन । त्यस्ता ठाउँमा ‘वाटर हाइड्रेन्ड’ पाइप जडान गर्ने काम भइरहेको छ । यसले पनि आगलागीको जोखिम कम गर्नेछ

केन्द्रीय बारूण यन्त्र कार्यालय वसन्तपुर र चाबहिलको रामहिटीमा पहिलादेखि नै वारुणयन्त्रका शाखा छन् । बालाजुको सहित तीन ठाउँमा वारुणयन्त्रको शाखा विस्तार भइसकेको छ । यी तीन स्थानमा अहिले सातवटा दमकल तयारी अवस्थामा छन् । 

महानगरपालिकाले आगलागी नियन्त्रणका लागि ‘फायर हाइड्रेन्ड’ राख्ने कार्यलाई पनि तीव्रता दिएको छ । हालसम्म महानगरले २५, १७, १६ र १३ वडामा मा ‘फायर हाइड्रेन्ड’ जडान गरिसकेको छ । १७ वडामा जडान भइरहेको छ । ७, १२ र १८ वडामा पनि फायर हाइड्रेन्ड राख्न माग आएको विभाग प्रमुख श्रेष्ठले बताए ।

महानगरभित्रका भित्री सहरमा ‘फायर हाइड्रेन्ड’ राख्ने कामले तीव्रता पाउँदा आगलागीको जोखिम कम हुने उनले बताए । भित्री भागमा दमकल पुग्न नसक्ने हुँदा आगलागी हुँला जनधनको ठूलो क्षति हुँदै आएको छ । ‘जहाँ साँघुरा गल्ली छन् । जहाँ हाम्रा दमलक पुग्न सक्दैनन् । त्यहाँ ‘वाटर हाइड्रेन्ड’ पाइप जडान गरिने काम भइरहेको छ । यसले पहिलेको तुलानामा आगलागीको जोखिम कम गर्नेछ,’ श्रेष्ठले भने । 

४२ कर्मचारीको भरमा  उपत्यकाका वारुणयन्त्र 
महागनरपालिकाले वारुणयन्त्रको शाखा विस्तारको पहल अगाडि बढाए पनि जनशक्ति परिपूर्तिलाई भने ध्यान दिनसकेको छैन । महानगरमा हाल भएका ४२ जनाको भरमा तीनवटै वारुणयन्त्र शाखा चलिरहेको छ । यो जनशक्ति अपुग भएको महानगरले जनाएको छ । वारुणयन्त्र वसन्तपुर कार्यालयका प्रमुख प्रकाश पण्डितका अनुसार एउटै वारुणयन्त्र सञ्चालनका लागि ३०–४० जना चाहिन्छ । ‘हाल हामीसँग रामहिटीमा आठ, वसन्तपुरमा १४ जना छन् । बाँकी बालाजु शाखामा छन् । जनशक्ति अभाव टार्न सशस्त्र प्रहरीको सहयोग माग्छौँ । बालाजुका लागि थप आठजना जनशक्ति मागेका छौँ, तर दिनुभएको छैन,’ पण्डितले भने ।

नयाँ वारुणयन्त्र सञ्चालनका लागि समेत जनशक्ति अभाव रहेको उनले बताए । ‘हामीसँग भएका दमकलले करिब १५ तलासम्मको भवनमा भएको आगलागी निभाउँछ । सर्वसाधारणमा पनि सचेतना आएको छ । घरमा, किचनमा लागेको आगो अहिले हामी पुग्नुभन्दा पहिला नै समुदाय नै मिलेर निवारण गरिसकेको हुन्छ,’ उनले भने । 

८५ वर्ष पुरानो जुद्ध वारुणयन्त्र अलपत्र
महानगरले वारुणयन्त्र शाखा विस्तार गर्न लागे पनि ८५ वर्ष पुरानो आफ्नै जीर्ण केन्द्रीय कार्यालय भवनको भने मर्मत गरेको छैन । वारुणयन्त्रमा कार्यरत एक कर्मचारीका अनुसार तल दमकल स्टार्ट गर्दा माथिल्लो भाग पूरै हल्लिने अवस्था छ । ३ भदौ १९९४ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले आगलागी नियन्त्रण गर्न स्थापना गरेको वारुणयन्त्र ८५ वर्षपछि पनि साधनस्रोत अभाव झेलिरहेको छ । २०औँ वर्ष पुराना यहाँका तीन दमकलमा चार हजार, ३५ सय र २५ सय लिटर पानी अटाउँछ । दुई रोपनी तीन आनामा बनेको दुईतले भवनको तल्लो तलाका दुईवटा सटरमा १९९२ सालमा बेलायतबाट ल्याइएको ‘मोरिस’ कम्पनीको पुराना मोडेलको दुईवटा दमकल संग्रह गरेरसमेत राखिएको छ ।