१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तिनकुने–शंखमूल करिडोरमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने क्रममा खनेको खाडल । जसका कारण सवारी आवागमनमा समस्या भइरहेको छ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मुख्य सडक नखन्न सडक विभागको निर्देशन 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o८:oo

प्राधिकरणले तार भूमिगत गर्दा र मेलम्ची खानेपानी आयोजनाका पाइप फुट्दा सवारी आवागमनमा समस्या

विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का कारण उपत्यकाका सडक अस्तव्यस्त बनेपछि सडक विभागले सडक खन्न नै रोक लगाएको छ । प्राधिकरणले तार भूमिगत गर्ने नाममा भित्री सडक भताभुंग पारेर त्यसै छाडेको भन्दै सडक विभागले मुख्य सडक र फुटपाथमा काम गर्न रोक लगाएको हो । 

‘हामीले भित्री सडक र करिडोरमा काम गरिरहेका छौँ, तर मुख्य सडकमा तार भूमिगत गर्न सडक विभागबाट सहमति पाएका छैनौँ,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘उहाँहरूले कालोपत्रे भएको मुख्य सडक खन्न दिन्नौँ भन्नुभएको छ ।’

पछिल्लो समय कतै मेलम्चीको पाइप फुटेको छ भने कतै कालोपत्रे सडक भत्काएर खाल्डाखुल्डी पारिएको छ । बिजुलीको तार भूमिगत गर्ने क्रममा उपत्यकाका अधिकांश सडक प्राधिकरणले पछिल्लो एक वर्षयता भत्काउँदै आएको छ । तार भूमिगत गरेर तत्कालै सडक मर्मत गर्नुपर्ने जिम्मा प्राधिकरणकै भए पनि कालोपत्रे सडक भत्काएपछि अस्तव्यस्त छाड्ने गरेको भन्दै सडक विभागले मुख्य सडक खन्न रोक लगाएको हो । 

जहाँ बिगारेका छौँ, त्यहाँ हामी नै सडक बनाउँछौँ  : कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
विद्युत् प्राधिकरणले ठेकेदारमार्फत तार भूमिगत गर्ने काम गरिरहेको छ । तर, उसले हामीले भनेको स्पिडमा काम गरेको छैन । जहाँजहाँ हामीले बिगारेका छौँ, त्यहाँत्यहाँ हामी नै सडक बनाउँछौँ । सोहीअनुसार काम गर्न ठेकेदारलाई निर्देशन दिएका पनि छौँ ।

असारयता कालोपत्रे गरेर चिटिक्क पारिएका फुटपाथ र सडकमा अहिले प्राधिकरणले डोजर र कामदार लगाएर भत्काइरहेको छ । आफ्नो काम गर्न सार्वजनिक सडक भत्काएर छाड्दा त्यसैले सडक प्रयोगकर्तालाई सास्ती भएको छ । हाल प्राधिकरणले उपत्यकाका भित्री र करिडोर सडक भत्काएको छ । ती ठाउँमा तार भूमिगत गरे पनि सडक मर्मत गरेको छैन । भत्काउनुपूर्व सडक जुन अवस्थामा थियो, तार भूमिगतपछि पनि सडकलाई त्यही अवस्थामा पु¥याउने सम्झौता प्राधिकरणले सडक विभाग र काठमाडौं महानगरपालिकासँग गरेको थियो । तर, आफ्नो काम सकेपछि प्राधिकरणले सडक कालोपत्रे नगरी छाड्ने गरेको छ । हाल तीनकुने हुँदै शंखमूल निस्कने बागमती करिडोर सडक प्राधिकरणले भत्काएर भताभुंग पारेको छ । यो सडक असारमा कालोपत्रे गरिएको थियो । पछिल्लो दुई महिनायता करिडोर सडकमा प्राधिकरणले काम थालेको थियो । तर, अधिकांश भागमा काम सकाए पनि सडकका खाल्डा पुरेको छैन । 

अनामनगरस्थित धोबीखोला करिडोरमा पनि प्राधिकरणले अर्को धराप बनाएको छ । तार बिछ्याउँदा प्राधिकरण टोलीले सडक नै अस्तव्यस्त पारेर छाडेको छ । धोबीखोला सडकमा तार भूमिगत गर्ने काम गरे पनि सडक भत्काएर छाडिएको छ । चाबहिल महाँकालस्थित विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्न सडक खनेको तीन महिना भयो । बिजुलीका तार भूमिगत गरेर सकिए पनि सडक व्यवस्थापन गरेको छैन । चाबहिलदेखि महाँकालसम्म केही भागमा खाल्डा टाले पनि त्यो टालटुले मात्रै छ । 

गत वर्ष डिभिजन सडक कार्यालय काठमाडौंले उपत्यकाका अधिकांश फुटपाथ पुनर्निर्माण गर्दै अपांगमैत्री बनाएको थियो । तर, विद्युत् प्राधिकरणले भत्काउँदा अहिले ती फुटपाथ बिग्रिएका छन् । हाल शान्तिनगर, बालुवाटारका भित्री गल्ली, चाबहिल, गौशाला, गैह्रीगाउँ, सामाखुसी क्षेत्र, टेकु, डल्लु, मन्डिखाटार, धापासी, गोगंबु, चक्रपथ, अनामनगरलगायत क्षेत्रका फुटपाथमा तार भुमिगत गर्न भत्काए पनि प्राधिकरणले व्यवस्थित बनाएको छैन । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीकोे काम सफा र छिटो नभएकाले सडकमा अवरोध भइरहेको स्विकारे । उनले जहाँजहाँ तार भूमिगत गर्दा सडक वा फुटपाथ भत्काइएको त्यो बनाउने जिम्मा पनि प्राधिकरणकै रहेको बताए । उनका अनुसार हालसम्म उपत्यकामा १५ प्रतिशत सडक तथा फुटपाथमा तार भूमिगत पार्ने काम भएको छ । तर, मुख्य सडकमा भने प्राधिकरणले कामै सुरु गरेको छैन । प्राधिकरणले उपत्यकामा पाँचवटा आयोजनाअन्तर्गत प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । महाराजगन्ज र रत्नपार्क क्षेत्रमा सबैभन्दा बढी काम भएको छ । त्यस्तै, कीर्तिपुर, भक्तपुर र ललितपुरअन्तर्गत पनि तार भूमिगतको काम भइरहेको छ । घिसिङका अनुसार प्राधिकरणले उपत्यकाबाहिर भरतपुर र पोखरामा पनि तार भूमिगतको काम सुरु गरेको छ । 

मेलम्चीको पाइप फुट्दा यात्रुलाई हैरानी 
चक्रपथको नारायणगोपाल चोकदेखि लैनचौरसम्म मेलम्चीको पाइप फुटेको छ । पाइप फुट्दा हिलाम्य हुने गरेको छ । त्यस्तै, सिफल ओरालोमा पनि मेलम्चीको पाइप फुट्दा सडक अस्तव्यस्त बनेको छ । थापागाउँ–अनामनगर सडकमा पनि मेलम्चीको पाइप फुटेको छ । फुटेको पाइप मर्मत गर्न बीचसडकमा खन्दा सवारी ओहोरदोहोरमा समस्या भएको छ । थापागाउँदेखि धोबीखोला पुलसम्म करिब १२ ठाउँमा मेलम्चीको पाइप फुटेको छ । पिआइडीका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कतिपय ठाउँमा पानीको प्रेसर बढी भएर समस्या हुने गरेको बताए । 

उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौं महानगरपालिकालगायतले सर्वसाधारणलाई अवरोध हुने गरी काम नगर्न प्राधिकरणलाई लिखित रूपमै आग्रह गरेका छन् । तर, सडक साँघुरो भएकाले काम हुन्जेल केही अवरोध पुग्न सक्ने रत्नपार्क वितरण केन्द्र, पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख सुमन श्रेष्ठको भनाइ छ । उनले धेरैजसो ठाउँमा तीव्र रूपमा काम भइरहेको बताउँदै सकेसम्म अवरोध नहुने गरी काम गर्ने बताए ।

 

ad
ad