१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Sunday, 22 September, 2024
२o७९ पौष २७ बुधबार o६:१७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयात रोकिएपछि ठूला उद्योगमा विद्युत् कटौती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार o६:१७:oo

भारतको बिहार प्रदेशबाट हुने विद्युत् आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु गरेको हो । बिहान सात बजेदेखि ११ बजेसम्म (चार घन्टा) र साँझ पाँच बजेदेखि १० बजेसम्म पाँच घन्टा गरी दैनिक नौ घन्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको हो । प्राधिकरणले विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, पोखरालगायतका स्थानका उद्योगहरूलाई पिक आवरमा विद्युत् प्रयोग नगर्न मौखिक निर्देशन दिएको हो । 

प्राधिकरणले पावर एक्सचेन्ज सम्झौता गरेर फिक्स दरमा भारतको बिहार प्रदेशबाट विद्युत् खरिद गर्दै आएको छ । पछिल्लो समय बिहार प्रदेशबाट दैनिक २५–२६ सय मेगावाट घन्टा विद्युत् आयात भइरहेको थियो । तर, बिहार प्रदेशमा भएको एक हजार तीन सय ३० मेगावाट क्षमताको एक पावर प्लान्ट प्राविधिक कारणले बन्द भयो । बिहारबाट आउने विद्युत् रोकिएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

‘भारतको पावर प्लान्ट बनाउन केही समय लाग्छ भनिएको छ । त्योअनुसार यो समस्या केही दिनका लागि मात्रै हो,’ उनले भने, ‘त्यसपछि यो समस्या समाधान भइहाल्छ ।’ नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यस अवस्थामा बर्सातमा खोलामा पानी बढी हुँदा आयोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यतिवेला भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा भने खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ । सोहीअनुसार नेपालको बिजुली उत्पादन घट्दा आन्तरिक माग धान्न गत मंसिरदेखि नै भारतदेखि विद्युत् आयात गरिँदै आइएको छ । भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा र बिहार प्रदेशबाट निश्चित दरमा विद्युत् आयात गरिँदै आइएको छ । 

पछिल्लो समय नेपालको पिक विद्युत् माग १७ सय मेगावाट हाराहारी छ । तर, आयात रोकिएपछि मागअनुसार विद्युत् आपूर्ति गर्न सकिएको छैन । भारतको खुला बजारबाट आयात हुने बिजुली ढल्केबर प्रसारण लाइनबाट ल्याइन्छ, जुन प्रसारण लाइन यसअघि नै पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । त्यो अवस्थामा भारतीय खुला बजारबाट थप विद्युत् किनेर पनि माग धान्ने अवस्था नभएको प्राधिकरणको भनाइ छ । 

तर, यता उद्योगीहरू भने विद्युत् कटौती गर्दा आफूहरू मर्कामा परेको बताएका छन् । पछिल्लो समय उद्योगहरूमा पर्याप्त मात्रामै विद्युत् आपूर्ति भइरहेको थियो । एकाएक कटौती हुँदा २४सै घन्टा चल्नुपर्ने उद्योगहरू प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए । सिमेन्ट, स्टिलजस्ता उद्योगमा हुने मेसिनहरू २४सै घन्टा सञ्चालन गर्नुपर्ने हुन्छ । तर, दिनमा दुईपटक उद्योग पूर्ण रूपमा बन्द गर्दा मेसिनहरू हुने मुरारकाको भनाइ छ । 

‘विद्युत् नै नभएपछि यस्तो समस्या आउनु स्वाभाविक हो । यसमा हामी पनि सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘त्यो अवस्थामा चौबिसै घन्टा सञ्चालन नभए पनि हुने उद्योगहरूमा विद्युत् कटौती गरे राम्रो हुन्थ्यो । चौबिसै घन्टा चल्नुपर्ने सिमेन्ट, स्टिल उद्योगमा भने आंशिक रूपमा भए पनि विद्युत् उपलब्ध गराए राम्रो हुन्थ्यो । कम्तीमा पनि अति आवश्यक मेसिनरी सामानहरू उद्योगहरूले चलाउन सक्ने गरी विद्युत् आपूर्ति गर्नुपर्छ ।’

कोरोना महामारी तथा पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याबाट प्रभावित उद्योगहरू बल्ल पुनरुत्थान हुँदै छन् । सिमेन्ट तथा डन्डी उद्योगहरूले भारततर्फ निर्यात पनि गर्न थालेका छन् । अहिले विद्युत् नहँुदा व्यवसायसमेत पुनः प्रभावित हुने देखिएको मुरारकाको भनाइ छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने कहिलेकाहीँ आउने यस्ता समस्यालाई ठूलो इस्युका रूपमा लिन नहुने बताउँछन् । ‘कहिलेकाहीँ प्राविधिक समस्याले गर्दा यस्तो समस्या आउन सक्छ । यो स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘हामीले पनि गएको बर्सातमा खपत नभएर दुई महिनासम्म पावर प्लान्ट बन्द गर्नुपर्‍यो ? उद्योगहरूले त्यतिवेला विद्युत् मागेनन् । उनीहरूले आफ्नो उद्योग जहिले चाह्यो, त्यहीवेला नै बन्द गर्न हुने ? हामीले नहुने ? त्यसमा हामीले केही भन्दैनौँ ? कहिलेकाहीँ प्राविधिक समस्याका कारण यस्तो अवस्था आउँछ । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’