१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हवाई भाडा नौ सयसम्म घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२५:oo

हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फ हवाई भाडादर नौ सय रुपैयाँसम्म घटेको छ । नेपाल आयल निगम (एनओसी)ले आइतबार रातिदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ३० रुपैयाँ घटाएको हो । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ कायम भएको छ ।  

हवाई इन्धनको मूल्य घटेपछि हवाई भाडादर पनि गन्तव्यअनुसार सय रुपैयाँदेखि नौ सय रुपैयाँसम्म घटेको वायुसेवा सञ्चालक संघले जनाएको छ । घटेको हवाई भाडा २७ गतेदेखि लागू हुने संघको भनाइ छ । संघले हवाई इन्धनको मूल्य घटाएर कोभिड महामारीले थलिएको उड्डयन व्यवसायलाई बचाउन माग गर्दै आइरहेको थियो । 

काठमाडौंबाट धनगढीसम्मको हवाई भाडादर सबैभन्दा धेरै प्रतियात्रु आठ सय ८५ रुपैयाँ घटेको छ । यस्तै, काठमाडौंबाट नजिकको गन्तव्य बाराको सिमरामा प्रतियात्रु भाडादर एक सय ८० रुपैयाँ घटेको छ । काठमाडौंबाट प्रतियात्रु हवाई भाडादर झापाको भद्रपुरमा ६ सय, विराटनगरमा चार सय ८४, जनकपुरमा दुई सय ६०, भरतपुरमा दुई सय १५, पोखरामा तीन सय २०, भैरहवामा चार सय १०, नेपालगन्जमा ६ सय ५५, तुम्लिङटार तीन सय ७०, सुर्खेत ६ सय ९०, राजविराज चार सय ११ रुपैयाँले घटेको संघले जनाएको छ । यस्तै, वायुसेवा कम्पनीले काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा प्रतियात्रु भाडादर ६ सय ८५ रुपैयाँ घटाएका छन् । 

वायुसेवा कम्पनीहरूले इन्धनको मूल्यमा हवाई भाडा र एयरपोर्ट ट्याक्स जोडेर टिकटको कुल भाडादर तोक्ने गर्छन् । आन्तरिक उडानका यात्रुहरूले पाँच सय रुपैयाँसम्म एयरपोर्ट ट्याक्स तिर्नुपर्ने हुन्छ । पछिल्लो समय हवाई इन्धनको मूल्य चर्किएपछि हवाई भाडा पनि अत्यधिक महँगो भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि आयल निगमले मूल्य घटाउन आनकानी गर्दै आइरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्धनको मूल्य घटाएर नागरिकलाई राहत दिन निर्देशन दिएपछि आयल निगमले हवाई इन्धनसँगै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको छ । 

काठमाडौंबाट मात्र नभएर पोखरा, विराटनगर र नेपालगन्जलाई पनि बेस बनाएर उडान हुने गर्छन् । पोखराबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, जोमसोमलगायत गन्तव्यमा उडान हुन्छ भने नेपालगन्जबाट हुम्ला, जुम्ला, सिमिकोटलगायत दुर्गम क्षेत्रका गन्तव्यमा उडान हुने गर्छ । ती क्षेत्रबाट हुने उडानहरूमा पनि हवाई भाडादर घटेको संघले जनाएको छ ।

 

 

ad
ad