
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको अल नासर क्लबमा डेब्युको प्रतीक्षा गरिरहेका छन् । कीर्तिमानी रकममा साउदी अरेबियाको क्लब नासर पुगेका रोनाल्डो अहिले इंग्लिस फुटलब एसोसिएसनको दुई खेलमा प्रतिबन्धित छन् । म्यानचेस्टर युनाइटेडसँग आबद्ध रहँदा रोनाल्डोले एभर्टनसँग प्रतिस्पर्धा गरेका थिए । सो खेलमा म्यानचेस्टर युनाइटेड १–० ले पराजित भएको थियो । रोनाल्डोले खेलपछि अभद्र व्यवहार गरेका थिए । जसका कारण उनी फुटबल एसोसिएसनको अनुशासनहीनको कारबाहीमा परे ।
रोनाल्डोलाई फुटबल एसोसिएसनले अनुचित र हिंसात्मक आचरणमा दोषी जनाउँदै दुई खेलमा निलम्बन गर्ने निर्णय गरेको थियो । साथै, उनलाई ५० हजार पाउन्ड जरिवाना गराइएको थियो । फुटबल एसोसिएसनको नियमअनुसार रोनाल्डोले जुन क्लबबाट प्रतिस्पर्धा गरे पनि प्रतिबन्ध यथावत् नै रहन्छ ।
यद्यपि, रोनाल्डोले इंग्लिस फुटबल क्लब छाडेका छन् । तर, उनले एफएको नियमअनुसार दुई खेलको प्रतिबन्ध पूरा गर्नुपर्छ । त्यसपछि मात्र रोनाल्डोले साउदी अरेबियामा फुटबल खेल्न पाउनेछन् । २१ जनवरीमा रोनाल्डोले अल नासरबाट खेल्नेछन् । अल नासर र रोनाल्डोबीचको सम्झौता फुटबल इतिहासकै सबैभन्दा महँगो सम्झौता मानिएको छ । नासरले रोनाल्डोलाई तीन वर्षका लागि २८ अर्ब ८० करोड रुपैयाँमा सम्झौता गरेको छ ।
साउदी अरेबियाले सन् २०३० को लक्ष्यसहित रोनाल्डोलाई भित्र्याएको हो । अहिले रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा धेरै कमाउने फुटबलर बनेका छन् । सम्झौताअनुसार रोनाल्डोले २०३० को फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबियाको योजनालाई सहयोग गर्नेछन् । साउदी अरब इजिप्ट र ग्रिससँग मिलेर सन् २०३० को फिफा विश्वकपको संयुक्त आयोजनाको तयारीमा छ ।