सिराहाको मिर्चैयामा आइतबार दिउँसो प्रहरीले बल प्रयोग गरी अवरुद्ध सडक खुलाउने क्रममा प्रदर्शनकारीले गरेको ढुंगामुढा लागेर वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ)सहित आठ प्रहरी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार प्रदर्शनकारीको ढुंगा लागेर वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ) रामकुमार चौधरीको खुट्टा फ्याक्चर भएको छ।
खुट्टा फ्याक्चर भएका चौधरीलाई थप उपचारका लागि आइतबार अपराह्न स्थलमार्ग हुँदै एम्बुलेन्सबाट काठमाडौं पठाइएको छ भने अन्य घाइते प्रहरीको स्थानीय मंगलम अस्पतालमा उपचार भइरहेको नायब उपरीक्षक बुढाथाकीले जानकारी दिए। उनका अनुसार अधिकांश घाइते प्रहरीहरूको हात, खुट्टामा चोट लागेको छ।
मिर्चैयास्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थीहरूले आइतबार बिहानदेखि पूर्व-पश्चिम सडकअन्तर्गत मिर्चैया बजार खण्डमा गरिरहेको सडक अवरोध खुलाउने क्रममा ढुंगामुढा भएपछि प्रहरीले १२ राउन्ड हवाई फायर र १५ सेल अश्रुग्याँस प्रहार गरेको उनले बताए।
‘चिसोको मौसममा सयौँ सवारीसाधन अलपत्र परेपछि सम्झाइबुझाई गर्दा पनि नमानेपछि बल प्रयोग गरेर सडक खुलाउँदा ढुंगामुढा भएको हो,’ मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले भने, ‘छात्राको मृत्युपछि आन्दोलनको नाममा विद्यार्थीभन्दा अन्यको घुसपैठ हुँदा प्रदर्शन अराजक बनेको हो।’
शान्तिपूर्ण आन्दोलनको नाममा आन्दोलनलाई उत्तेजित बनाउन खोजिएको र प्रहरीलाई लक्षित गरी पेट्रोलबमसहित ढुंगामुढा गरेको प्रहरी नायब उपरीक्षक वलीले दाबी गरे। प्रहरीले बल प्रयोग गरी सडक अवरोध खुलाएपछि रोकिएका सयौँ सवारीसाधन गन्तव्यतिर हिँडेको र आइतबार साँझसम्म अवस्था सामान्य बनिसकेको उनले बताए।
घटनाप्रति मधेसी आयोगले गम्भीर ध्यानकर्षण भएकाे जनाउँदै घटनाकाे सत्यतथ्य बुझेर दोषीलाई कानुनी दायरामा ल्याउन तथा तनावग्रस्त स्थितिलाई शान्त बनाउन निर्देशन दिएकाे छ।
प्रिन्सिपल र शिक्षिका पक्राउ
गत शुक्रबार महिनावारी भएकी छात्राले पेट दुखेको बताएपछि शिक्षिकाले दिएको औषधि स्पिरिटसँग सेवन गरेकी छात्राको मृत्यु भएको घटनामा प्रहरीले विद्यालयका प्रिन्सिपल र शिक्षिकासहित दुईजनालाई पक्राउ गरेको छ।
सिराहाको मिर्चैयास्थित सगरमाथा माविका प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
मिर्चैया प्रहरीका अनुसार मृतक छात्राका बाबुले दिएको किटानी जाहेरीको आधारमा प्रिन्सिपल तिवारीसहित दुईजनालाई पक्राउ गरी अनुसन्धान थालिएको हो। मृतक छात्राका बाबु धर्मेन्द्रकुमार महराले दिएकोे ज्यानसम्बन्धी कसुर मुद्दाको जाहेरी आइतबार मिर्चैया प्रहरीले दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
यस्तो थियो घटना
मिर्चैयास्थित सगरमाथा उमाविमा कक्षा ८ मा पढिरहेकी करिब १५ वर्षीया सिर्जनाकुमारी महरा गत शुक्रबार सिराहा नगरपालिका– ११ पदमपुरस्थित घरबाट विद्यालयमा आएकी थिइन्। महिनावारी भएकी उनले कक्षा चलिरहेका वेला पेट दुखेको बताएपछि शिक्षिकाले उनलाई औषधि दिएको जनाइएको छ।
‘शिक्षिकाले दिएको औषधि पानीसँग सेवन गर्नुपर्नेमा कक्षाको सेतो पाटी सफा गर्न राखिएको स्पिरिटसँग सेवन गरिछिन्,’ विद्यालयका एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा भने।
पानीको सट्टा स्पिरिटसँग औषधि सेवन गरेकी छात्रा बेहोस भएपछि प्रिन्सिपल तिवारी स्वयंले उनको उपचार गराउनुभन्दा घर पुर्याएर आराम गरेपछि ठीक हुन्छ भन्दै छोडेर आएको मृतकका बाबु महराले बताए।
‘बेलैमा छोरीको अवस्थाबारे जानकारी पाएको भए उपचार गराउन सकिन्थ्यो,’ उनले भने, ‘तर, प्रिन्सिपल आफैँले झुक्याएपछि वेलैमा उपचार गराउन नसक्दा छोरी गमाउनु पर्याे।’
छोरीलाई घर ल्याउने वेलामा प्रिन्सिपलले ‘थोरै स्पिरिट खाएकोले नशा लागेको छ, केहीबेर आराम गरेपछि ठीक हुन्छ भनेपछि कतै नलगेको उनले बताए।
प्रिन्सिपल फर्किएको केही घन्टापछि नै छोरीको अवस्था गम्भीर बन्दै गएपछि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइएको, तर ढिलो लगेकाले उपचारकै क्रममा शनिबार राति १२ बजेतिर निधन भएको उनले बताए।
अस्पतालका डा. श्यामकुमार साहले स्पिरिटको कारणले सिर्जनाको फोक्सो पूरै सेतो भइकेको र अक्सिजनको कमीका कारण मृत्यु भएको हुन सक्ने बताए।
उनले फोक्सो सेतो हुनुको कारण भने फोरेन्सिक जाँचबाट मात्र खुल्ने उल्लेख गरे। ‘एक्स–रे मा फोक्सो कालो देखिनुपर्नेमा पूरै सेतो देखिनुको कारण फोरेन्सिक जाँचपछि मात्र थाहा हुन्छ,’ डा. साहले भने।