१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका साउ पाउलो
२०७९ पौष २१ बिहीबार ०८:४५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेलेको अन्त्येष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, साउ पाउलो
२०७९ पौष २१ बिहीबार ०८:४५:००

तीनपटकका विश्वकप विजेता ब्राजिली लेजेन्ड पेलेको मंगलबार राति अन्त्येष्टि गरिएको छ । कोर्टेज बन्दरगाह सहरको मेमोरियलमा पेलेको अन्त्येष्टि गरिएको हो । दाहसंस्कार गर्नुअघि क्याथोलिक अन्त्येष्टि प्रक्रिया सुरु भएको थियो । अन्त्येष्टिअघि पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको अर्बानो रंगशालामा राखिएको थियो । सान्तोस क्लबले पेलेको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिन एक दिन खुला राखेको थियो । 

पेलेलाई दुई लाख ३० हजारभन्दा धेरै समर्थकले बेल्मिरो स्टेडियममा श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जलीसभामा रातभरि नै लाइनमा बसेर पेलेको अन्तिम दर्शन गर्नुका साथै श्रद्धाञ्जली दिए । पेलेको पार्थिव शरीरलाई सान्तोस रंगशालबाटै ट्रकमा परेड गरिएको थियो । पेलेको अन्तिम यात्रामा विभिन्न नारा लगाइएको थियो । उनका हजारौँ समर्थकले ठूला–ठूला ब्यानरमा पेलेको नाम लेखेका थिए । विश्वभरि नै पेलेको १० नम्बरको जर्सी प्रसिद्ध छ । धेरैजसो समर्थकले यही १० नम्बरको जर्सी लगाएका थिए । 

पेलेको ८२ वर्षको उमेरमा गत २९ डिसेम्बरमा निधन भएको थियो । पेले २०२१ देखि कोलोन क्यान्सरको उपचार गराइरहेका थिए । ब्राजिलको सरकारले उनको मृत्युपछि तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको थियो । अन्तिम श्रद्धाञ्जली दिन ब्राजिलमा राष्ट्रपति लुइज इनासिओ लुसा डी सिल्भा र उपराष्ट्रपति जेराल्डो आल्किम पनि सहभागी भए । पेलेले १७ वर्षको उमेरमै सन् १९५८ मा ब्राजिललाई पहिलो विश्वकप उपाधि जिताएका थिए ।

सन् १९६२ र १९७० मा ब्राजिलले विश्वकप उपाधि उचाल्दा पेलेले उत्कृष्ट प्रदर्शन गरेका थिए । पेलेले फुटबल करिअरमा अधिकांश समय सान्तोसमै बिताएका थिए । पेलेको पार्थिव शरीरमा उनका छोरा इडिन्होले सुरुमै श्रद्धाञ्जली दिएका थिए । कफिनको ग्लासभित्र पेलेको अनुहार मात्रै देखाइएको थियो । पूर्वफुटबल खेलाडी सर्जिन्हो चुपालाले पेलेको पार्थिव शरीरमा चुम्बन गरेका थिए । १६ हजार दर्शक क्षमताको मैदानमा पेलेको चर्चित जर्सी नम्बर १० फहराइएको थियो । पेलेले २१ वर्षीय खेलजीवनमा एक हजार दुई सय ८३ गोल गरेका थिए ।