१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउन गएको ‘अकुपाई टुँडिखेल अभियान’का अभियन्ताहरू महानगर कार्यालयअगाडि धर्ना दिँदै ।
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

खुलामञ्चमाथि महानगरको संकुचित दृष्टि : पार्किङस्थल नबनाउन आग्रह गर्न गएका अभियन्तासँग मेयर साहले भेट्नै मानेनन्

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५o:oo

काठमाडौं महानगरले दुई महिनाअघि खुलामञ्चमा तीन तहको भूमिगत पार्किङस्थल बनाउन डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) गर्ने निर्णय गर्‍यो । त्यसयता खुलामञ्चको प्राकृतिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक महत्व रहेको र यसलाई नाश गर्ने गरी पार्किङस्थल बनाउनुनहुने भन्दै चौतर्फी आलोचना र विरोध भइरहेको छ । 

तर, यति धेरै आलोचना हुँदा पनि महानगर भने आफ्नो निर्णयमाथि हलचल भएको छैन । जसकारण ‘अकुपाई टुँडिखेल अभियान’ले सोमबार महानगरको कार्यालयअगाडि दबाबस्वरूप खबरदारी र धर्ना दिएको छ । साथै, महानगरकी उपमेयर सुनीता डंगोललाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ । ‘खुलामञ्चलाई खुलै राख्नेबारे विभिन्न चरणमा छलफल गरिरहेका थियौँ । यहीबीचमा खुलामञ्च सफा देखेपछि हर्षित पनि भएका थियौँ । एकाएक कार्यपालिका बैठकबाट खुलामञ्चमा तीन तहको भूमिगत पार्किङ निर्माण गर्न डिपिआर तयार गर्ने जानकारी पाउँदा अचम्मित भएका छौँ,’ ज्ञापनपत्रमा उल्लेख छ । महानगरपालिकाले ‘ट्रिपल बेसमेन्ट पार्किङ’ र पानी पुनर्भरण पिटको डिपिआर बनाउने निर्णयविरुद्ध अकुपाई टुँडिखेलले ११ पुसमा २८ नम्बर वडाका अध्यक्ष भाइराम खड्गीको समेत ध्यानाकर्षण गराइसकेको छ ।

महानगरको २९ कात्तिकमा बसेको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो । महानगरका अनुसार यहाँ पार्किङस्थल बनेमा काठमाडौंको अव्यवस्थित पार्किङ समस्या व्यवस्थापन हुनेछ । 

विद्यासुन्दरकै बाटोमा बालेन्द्र
अभियानका सदस्यहरूले सोमबार मेयर बालेन्द्र साहलाई नै भेटेर कुरा राख्न चाहे पनि उनले समय दिएनन् । समय दिनुको साटो उल्टै अभियानका प्रवक्ता सञ्जय अधिकारीलाई माघ पहिलो सातासम्म फुर्सद नभएको भन्दै इमेलमार्फत जानकारी गराए ।

प्रविधिमा निपूर्ण भनिएका मेयरले चाहेको भए ‘जुम मिटिङ’ नै गरेर छलफल चलाउन सक्ने भए पनि बेवास्ता गरेको प्रवक्ता अधिकारीले बताए । उनले मेयर साह पनि तत्कालीन मेयर विद्यासुन्दर शाक्यकै लयमा लागेको आरोपसमेत लगाए । ‘उहाँ जनताप्रति बफादार हुनुहुन्न । हामीले यहीँ आएर कुरा गर्नुपर्छ भनेका छैनौँ । ‘जुम मिटिङ’ गरौँ भन्दा पनि समय दिनुभएन,’ उनले भने, ‘पहिलाकै मेयरको पथमा नहिँड्नुहोस् । पहिलाको मेयरसाबले पनि झुलाउने, समय नदिने गर्नुभएको थियो । त्यसैले जनता र जनप्रतिनिधिबीच टसल थियो । हामी त्यो टसल खडा गर्ने स्थितिमा छैनौँ । पहिलाको मेयरज्यूजस्तै गरेर अहिलेको मेयरज्यू पनि पन्छेर हिँडिरहनुभएको छ ।’

ठेकेदारको प्रतिनिधि नबन्न मेयरलाई आग्रह
अभियानका प्रवक्ता अधिकारीले पार्किङ निर्माणका लागि खुलामञ्चको विकल्प धेरै ठाउँ भएको र ठेकेदारको प्रतिनिधि नबन्न मेयर साहलाई आग्रह गरे । ‘मेयरज्यूले जुन गाडी चढ्नुहुन्छ, त्यो गाडी खुलामञ्चमा राखेर हिँड्दै कार्यालयसम्म आउनुहुन्छजस्तो लाग्छ भने यो ठूलो भ्रम हो । न मेयरज्यू, न कुनै पनि जनताले त्यो काम गर्नेछन्,’ उनले भने, ‘खुलामञ्च... खुलामञ्च... भनिरहँदा पुरानो बसपार्कमा निर्माणाधीन भवनमै प्रशस्त पार्किङ छ । त्यहाँ नै पार्किङको व्यवस्था गर्न किन सक्नुहुन्न ? नेपाल एयरलाइन्सको जग्गा यतिकै बसेको छ । त्यसलाई अधिग्रहण गर्न किन सक्नुहुन्न ? सञ्चय कोष भवनको पार्किङलाई किन लिन सक्नुहुन्न ? विकल्प नै नखोजी उहाँहरू कसका लागि पैसा खन्याउन खोजिरहनुभएको हो ? डिपिआर मात्र भए पनि पैसा त लाग्छ नि । घुमिफिरी जनताको करबाटै त पैसा आउने हो ।’ 

०२४ सालमा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग ०४७ सालमा ३३ प्रतिशत, ०५७ मा २५ प्रतिशत र ०७४ मा १४ प्रतिशतमा खुम्चिन पुगेको छ । अतिक्रमणलाई रोक्न, खुला क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र पूर्ण टुँडिखेलका लागि अकुपाई टुँडिखेल नामक अभियान २३ कात्तिक ०७६ मा सुरु भएको हो । 

खुलामञ्च सफा गर्दा  पार्किङ बनाउन लागे भनेर हल्ला चलाइयो : वसन्त अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, कामपा 
खुलामञ्चमा पार्किङस्थल बनाउने भनेर कार्यपालिकामा छलफल भएको हो । तर, अहिले नै काम सुरु गर्न लागेका होइनौँ । त्यसबारे नगर विकास कोषले पनि अध्ययन गर्दै छ । अहिले खुलामञ्च सफा गर्न डोजर चलाउँदा पार्किङ बनाउन लाग्यो भनेर हल्ला चल्यो । विस्तृत अध्ययनपछि मात्रै यसबारे अघि बढ्छौँ । उपत्यकामा त्यति एउटा खुला ठाउँ छ । खुलामञ्च सार्वजनिकस्थल हो । फिजिबिलिटी सम्भाव्यता अध्ययनपछि मात्रै काम सुरु हुने वा नहुने थाहा हुन्छ ।

खुलामञ्च जोगाउन उपमेयरले अडान लिने 

मेयर बालेन्द्र साहले अभियन्तासँग छलफल गर्न नचाहे पनि उपमेयर सुनीता डंगोलले भने ज्ञापनपत्र बुझेर छलफल गरेकी छिन् । सो क्रममा उपमेयर डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा ‘अन्डर ग्राउन्ड पार्किङ’ नबन्ने आश्वासन दिइन् । उनले ‘अन्डर ग्राउन्ड पार्किङ’ खुलामञ्चमा आवश्यक हो वा होइन भन्नेबारे स्थानीयको सुझाव लिएर अघि बढ्ने बताइन् । धरहरा, काठमाडौं प्लाजालगायत स्थानमा सञ्चालन हुने ‘अन्डर ग्राउन्ड पार्किङ’ले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नपर्ने उनको भनाइ छ ।

चौतर्फी विरोध भएपछि १६ वैशाख ०७८ मा खुलामञ्चलाई अतिक्रमणमुक्त गर्ने भन्दै तत्कालीन मेयर शाक्यको निर्देशनमा अतिक्रमण गरेर बनाइएका अवैध संरचनामा डोजर लगाइनुका साथै अतिक्रमणकारीलाई हटाइएको थियो । यहाँ रहेको बसपार्कलाई समेत हटाएर बाहिर सारिएको थियो । पुरानो बसपार्कमा ‘भ्यु टावर’ बनाउन थालिएसँगै महानगरले ६ महिनाका लागि खुलामञ्चलाई बसपार्क बनाउन भने पनि ६ वर्षसम्म बसपार्कका रूपमा प्रयोग गरेको थियो ।

ad
ad