Skip This
नयाँ सरकार बन्नुलाई ठूलो सफलता मानेका छैनौँ : ओली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १८ सोमबार १९:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ सरकार बन्नुलाई ठूलो सफलता मानेका छैनौँ : ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १९:४१:oo

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको अगुवाइमा देशमा नयाँ सरकार बनेको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नो पार्टीले ठूलो सफलता वा प्रतिष्ठाका रूपमा नलिएको बताएका छन्।

दोलखाको भीमेश्वर नगरपालिकाबाट देशदर्शनका लागि काठमाडौं आएका ८० वर्षमाथिका ४० जना वृद्ध–वृद्धाहरूको समूहलाई सोमबार आफ्नो निवास बालकोटमा स्वागत तथा सम्मान गर्दै ओलीले त्यस्तो बताएका हुन्। 

‘ठूलो षडयन्त्रमार्फत गठबन्धनबाहिर पारेर एमालेलाई सिध्याउन खोजिएको थियो, त्यस्तो षडयन्त्रमा दौडिनेहरू, कुदाकुद गर्नेहरू आफैँ थाके र देशको राजनीतिक स्थितिमा पनि परिवर्तन आएको छ,’ ओलीले भने, ‘सूर्य उदाउँदा पनि रातै भएर उदाउँछ, अस्ताउँदा पनि रातै भएर अस्ताउँछ, सफल भइयो भनेर हामी मातिएका छैनौँ, असफल भयौँ भने पनि हामी आतिदैनौँ। एमाले सधैँ एउटै लयमा हुन्छ, सधैँ देश र जनताको चिन्तासहित खुसीका लागि अघि बढिरहन्छ।’

आफू ५७ वर्षदेखि निरन्तर देशमा परिवर्तन ल्याउन राजनीतिमा क्रियाशील रहेको भन्दै ओलीले बच्चादेखि वृद्धवृद्धासम्मको स्नेह र आशीर्वादले देश र जनताको सेवाका लागि प्रेरणा तथा ऊर्जा मिलिरहेको बताए। 

त्यस अवसरमा ९४ वर्षीय वृद्धा विष्णुमाया खड्का र भीमेश्वर ५ का वडाध्यक्ष बासु श्रेष्ठले ओली र उनकी धर्मपत्नी राधिकालाई महांकाल मन्दिरको प्रसाद प्रदान गरेका थिए। 

ओलीले वृद्धवृद्धाहरूको समूहलाई दोसल्ला ओढाएर तथा फलफूल खुवाएर स्वागत र सम्मान गरेका थिए। वडाध्यक्ष श्रेष्ठको संयोजन र जेष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्कीको व्यवस्थापनमा देशदर्शनमा आएका उनीहरूले पशुपतिनाथको दर्शन पनि गरेका छन्।

साथै, उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्दै छन्। कार्यक्रममा पूर्वमन्त्री पार्वत गुरुङ, प्रतिनिधिसभाका सांसद ईश्वरी रिजाल, एमाले केन्द्रीय सदस्य रचना खड्कासहित सहभागी थिए।