मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १७ आइतबार ०६:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिका फलोअप : अदानचुली गाउँपालिकाको काम सुर्खेतबाट गरिएको भन्दै अख्तियारमा उजुरी

Read Time : > 1 मिनेट
२०७९ पौष १७ आइतबार ०६:५०:००

हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापामाथि ‘पालिका अपहरण’ गरेको आरोप लागेको छ । आरोप लगाउनेमा गाउँपालिकाका उपाध्यक्ष कर्णबहादुर रोकाया छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा अध्यक्ष सिंहको चाहनामा ल्याइएका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापाले पालिका अपहरण गरी सुर्खेतबाट सञ्चालन गरेको भन्दै मुद्दा दायर गरेका हुन् । 

उपाध्यक्ष रोकायाले गत ११ मंसिरमा पालिका अध्यक्षले अनुचित कार्य गरेको भन्दै उजुरी हालेका हुन् । गत १० असारमा गाउँपालिकाको गाउँसभाले विनियोजन गरेका विभिन्न शीर्षकको बजेट कहाँ, कसरी र कति बाँडफाँड गर्ने भनेर अहिलेसम्म कुनै पनि निर्णय नभएको उनले बताएका छन् । कार्यपालिकामा कुनै निर्णय नगरी, नगराई प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापाले सुर्खेतमा बसेर मनोमानी ढंगले चालू खर्चबाट तीन करोड २१ लाख २२ हजार दुई सय ८३ रुपैयाँ र पुँजीगत खर्चबाट ३० लाख ८४ हजार पाँच सय ७४ रुपैयाँ ग्लोबल आइएमई बैंक सुर्खेत शाखाबाटै निकासा गरेको आरोप लगाएका छन् । 

‘गत १० असारमा गाउँसभाको सर्वसम्मत निर्णय (एजेन्डा) को अवज्ञा गर्दै यस गाउँपालिकाका जननिर्वाचित जनप्रतिनिधि र गाउँ कार्यपालिकाको बेवास्ता गरी अधिकारमाथि पूर्ण हस्तक्षेप गर्दै कैयौँ रकम निकासा गरी व्यक्तिगत प्रयोजनमा खर्च भएको देखिएको छ,’ अख्तियारमा हालिएको उजुरीमा भनिएको छ । साथै, व्यक्तिगत प्रयोजनमा खर्च गरी अनुचित कार्य गर्ने शाही र लेखापाल थापा गत भदौ महिनादेखि अहिलेसम्म पालिकामा हाजिर नभएको पनि उजुरीमा उल्लेख छ । 

उपाध्यक्ष रोकायले प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सुर्खेतमै बसेर मिलेमतोमा उतै व्यक्तिगत हाजिर लगाई तलब खाने र सुर्खेतबाट आफ्ना इच्छाएका व्यक्तिलाई करार पदमा नियुक्ति गरी गाउँपालिका कार्यालयमा हाजिरै नगराई तलबसमेत खुवाएको आरोप लगाएका छन् ।

अख्तियारको उजुरीमा भने पालिका अध्यक्ष सिंहको नाम उल्लेख छैन । उपाध्यक्ष रोकायाले निमित्त प्रमुख शाही र थापाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम’ अनुचित कार्य गरेकाले झिकाएर निकासा भएको रकमबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मागसमेत गरेका छन् । उनले अनुचित ठाउँमा हिनामिना भएको रकम शोधभर्ना तथा असुलउपर गरिदिनसमेत आग्रह गरेका छन् ।

पालिका उपाध्यक्ष रोकायले निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापाले गत साउनदेखि मंसिरसम्म पटक–पटक गरी करोडौँ रकम निकासा गरेको उजुरीमा उल्लेख गरेका छन् । यो विषयमा ५ मंसिरमा मात्रै आफूलाई जानकारी भएको उनले बताए ।