१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Saturday, 28 September, 2024
रासस काठमाडौं
२o७९ पौष १५ शुक्रबार १३:o८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अंग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार १३:o८:oo

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यही पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो।

परिषद्ले शुक्रबार बिहान स्काई लाइन होटेल ठमेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चयकोषअगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए।

‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ,’ भन्ने मूल नाराका साथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ,’ उनले भने। ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ।

ठमेल सडक महोत्सवलाई सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापबारे छलफल भइसकेको अध्यक्ष शर्माले बताए। सो सडक महोत्सवमार्फत ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नसमेत माग गरिने अध्यक्ष शर्माले बताए।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सवले ठमेलभित्रका व्यवसायीले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रम पुस १६ गते साँझ ५ः३० बजे सुरु भई सांस्कृतिक कार्यक्रम रातको १२ः३० सम्म चल्ने उपाध्यक्ष धमलाले बताए।

पछिल्लो समय ठमेल पर्यटन विकास परिषद्ले विभिन्न इन्टरनेट कम्पनीको सहकार्यमा ठमेलभित्रको अव्यवस्थित तारसमेत व्यवस्थापन गरिसकेको छ। अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी गर्न लागिएको सडक महोत्सव सम्पन्न गर्न रु. २५ लाख हाराहारीमा खर्च हुने परिषद्का महासचिव राजिव पाण्डेले जानकारी दिए। उक्त सडक महोत्सवले व्यवस्थित ठमेल निर्माणमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।