Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी पेरिस
२०७९ पौष १५ शुक्रबार ०७:२८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लडेको नाटक गर्दा नेमारले रातो कार्ड पाए

Read Time : > 1 मिनेट
एजेन्सी, पेरिस
२०७९ पौष १५ शुक्रबार ०७:२८:००

 ब्राजिलिय युवा स्ट्राइकर नेमार जुनियरले कतार विश्वकप फुटबल प्रतियोगितापछि फ्रेन्च लिग वानमा आबद्ध भएको खेलमै रातो कार्ड सामना गरेका छन् । फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको खेलमा नेमारआबद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्टार्सबर्गविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यस खेलमा पिएसजीले स्टार्सबर्गमाथि २–१ को कठिन जित निकाल्यो । तर, खेलको ६२औँ मिनेटमा नेमारले दोहोरो पहेँलो कार्डस्वरूप रातो कार्ड पाए । 

स्टार्सबर्गको डिबक्सभित्र बल अगाडि बढाउँदै गएका नेमार विपक्षी खेलाडीबाट ट्याकल भएको जस्तै गरी मैदानमा लडे । उनीसँगै दौडिरहेका स्टार्सबर्गका खेलाडीले कुनै ट्याकल नै गरेका थिएनन् । नेमार अचानक भुइँमा लडे । नेमारले पेनाल्टीका लागि अपिल गरे । यद्यपि, रेफ्री डिबक्सभित्र थिए । स्पष्ट रूपमा ट्याकल नभएको र नेमारले पेनाल्टी पाउन जानाजान लडेको निष्कर्ष रेफ्रीले निकाले । 

कारबाहीस्वरूप नेमारलाई दोस्रो पहेँलो कार्ड देखाइएको थियो । यसअघि नै नेमारले एक पहेँलो कार्ड पाइसकेका थिए । त्यसपछि पिएसजीले बाँकी समयमा दश खेलाडीमा प्रतिस्पर्धा गरेको थियो । खेलको १४औँ मिनेटमा माक्र्विन्होसले पिएसजीलाई १–० को अग्रता दिलाए । उनले नेमारको पासमा गोल गरेका हुन् । माक्र्विन्होसको आत्मघाती गोलमा स्टार्सबर्गले १–१ को बराबरी गोल फर्कायो । नेमारको यस लाजमर्दो क्रियाकलापपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । नेमारलाई आउने ओलम्पिकमा व्यावसायिक खेलाडीका रूपमा उत्रनुपर्ने टिप्पणी गरेका छन् । 

नेमारको आलोचना
‘के त्यो डाइभ र फल वास्तवमै थियो ?’ सोसल मिडियामा नेमारप्रति उठाइएका प्रश्न हुन्, ‘नेमारजत्तिको खेलाडीले आउने ओलम्पिकमा व्यावसायिक व्यवहार देखाउनुपर्छ ।’ नेमारकै कारण पिएसजी लगभग खेल गुमाउने अवस्थामा पुगेको आरोप पनि लगाएका छन् । ‘मैदानमा नेमार नाटक गर्न खप्पिस छन्, आजको खेलमा पनि उनले एक नाटक गरेका थिए, जसका कारण लगभग पिएसजी हारको मुखमा पुगेको थियो,’ द स्पोर्टस् काउन्टडाउनले लेखेको छ, ‘यद्यपि, नेमारकै पासमा गोल पनि निस्कियो ।’ 

प्रतिस्पर्धामा नेमारले रेफ्रीलाई झुक्याउन खोज्दा रातो कार्ड पाएको एक समर्थकले लेखेका छन् । ‘नेमारलाई रेफ्री कहाँ छन् भन्ने थाहा हुनुपर्ने थियो,’ ती समर्थकले भने, ‘रेफ्रीकै अगाडि लडेको नाटक गरेपछि रातो कार्ड नै हो ।’ प्रतिस्पर्धामा पिएसजीका मिडफिल्डर लियोनल मेसी थिएनन् । दुई साताअघि कतारको लुसेल रंगशालामा अर्जेन्टिनालाई तेस्रोपटक विश्वकप उपाधि दिलाएपछि मेसीले पिएसजीबाट बिदा लिएका छन् ।