६ घण्टा चलेको राप्रपा बैठकमा चर्काचर्की, ससर्त सरकारमा जाने निर्णय

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा ससर्त सहभागी हुने निर्णय गरेको छ। 

पार्टी केन्द्रीय कार्यालयमा लगातार ६ घण्टासम्म चलेको कार्यसम्पादन समितिको बैठकले अन्तिममा आफ्ना सर्त पूरा भए सरकारमा सहभागी हुने निर्णय गरेको हो। 

प्रवक्ता मोहन श्रेष्ठले सरकारमा सहभागी दलहरूबीच बन्ने न्यूनतम साझा कार्यक्रममा आफ्ना माग समेट्ने सहमति भए मात्र सरकारमा जाने निर्णय भएको जानकारी दिए। 

बैठकले सर्तहरू तयार गर्ने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। 

सरकारमा सहभागी हुने-नहुने विषयमा निर्णय गर्न बसेको बैठकमा लामो समय चर्काचर्की भएको थियो। 

एक नेताका अनुसार अध्यक्ष लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता मोहन श्रेष्ठ, सांसद ज्ञानेन्द्र शाहीलगायत सरकारमा जान नहुने पक्षमा थिए। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सांसदहरू दीपक बोहोरा, धवलशमशेर राणा, विक्रम पाण्डेलगायत अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने पक्षमा धारणा राखेका थिए। 

दुई थरी मत राखेका नेताहरूबीच चर्काचर्की नै भएको थियो। दुईथरी मत आएपछि बीचको बाटो निकाल्दै राप्रपाले न्यूनतम साझा कार्यक्रममा आफ्ना माग पूरा हुने अवस्था बने सरकारमा सहभागी हुने निर्णय लिएको हो। 

सुझावित समाचार