१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति कार्यालयमा ओली–नेपाल संवाद 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o२:oo

एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पार्टी विभाजनपछि दोस्रोपटक संवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण समारोहमा सहभागी हुन सोमबार शीतलनिवास पुगेका उनीहरू पूर्वप्रधानमन्त्रीको हैसियतमा संयोगले एउटै लहरको कुर्सीमा एकैठाउँ बसेका थिए । त्यही क्रममा उनीहरूबीच संवाद भएको प्रत्यक्षदर्शी एक नेताले बताए । 

शपथ चलिरहँदा दुवै नेतातिर ध्यान केन्द्रित गरिरहेका नेताहरूका अनुसार ओलीले माधव नेपाललाई शिष्टाचारसहित हालखबर सोधेका थिए । ‘बिरामी हुनुहुन्छ भन्ने सुनेको थिएँ । के छ अहिलेको अवस्था ?’ ओलीको यस्तो जिज्ञासापछि नेपालले अहिले स्वास्थ्य अवस्था ठीकठाक रहेको जवाफ फर्काएका थिए । निमोनियाको लक्षण देखिएपछि गत मंगलबार नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर स्वास्थ्यलाभ गरी फर्किएका थिए । 

राष्ट्रपति कार्यालयमै उनीहरूबीच शपथ सकिएपछि खाजा खाँदै गर्दा पनि दोस्रो चरण संवाद भएको थियो । नजिकै रहेका अन्य नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै ओलीले ‘अहिलेको घटनाक्रमलाई किनारको साक्षी बसेर हेरिरहेको’ बताएका थिए । जवाफमा नेपालले पनि ‘तपाईं मात्र किन ? म पनि उसैगरी हेरिरहेको छु’ भनेका थिए । 

५ पुस ०७७ मा संसद् विघटनपछि तत्कालीन नेकपा विभाजनसँगै एमालेभित्र चर्किएको अन्तर्विरोधको समाधान खोजेर पार्टी विभाजन रोक्न ओली–नेपालबीच ९ वैशाख ०७८ मा मेरियट होटेलमा अन्तिम औपचारिक भेटवार्ता भयो । तर, भेटवार्ता विभाजन रोक्ने अचुक अस्त्र बनेन । 

सर्वोच्च अदालतको फैसलाबाट २९ असार ०७८ मा शेरबहादुर देउवाको प्रधानमन्त्री नियुक्ति, दल विभाजनसम्बन्धी अध्यादेशसँगै ९ भदौ ०७८ मा पुग्दा एमाले विभाजित भयो । दुवै नेताबीच आपसी तिक्तता चुलियो, सार्वजनिक मञ्चमा दुवै तिक्त गाली–गलौजमा उत्रिए । तर, पार्टी विभाजनको दश महिनापछि पानी बाराबारकै बीचमा ओली–नेपालबीच २४ चैत ०७८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जम्काभेट भयो । 

ओली सिमरा हुँदै वीरगन्जमा पार्टी कार्यक्रममा जाँदै थिए । नेपाल भैरहवा हुँदै कपिलवस्तुमा समाजवादीको पार्टी कार्यक्रममा जाँदै थिए । टर्मिनलस्थित भिआइपी कक्षमा ओली बसिरहेकै वेला नेपाल पुग्दा दुवैले एक–अर्कालाई देखेर असहज महसुस गरेका थिए । आमने–सामने बनेका उनीहरूबीच हेराहेर भयो, तर शिष्टाचारका लागि दुवैले नमस्कार गरेनन् । केहीबेरको हेराहेरपछि नेपालले मौनता तोड्दै ‘के छ खबर ?’ भनेर ओलीको हालखबर सोधेका थिए । जवाफमा ओलीले ‘ठीकै छ’ फर्काए । दुवै नजिकैको सोफामा करिब १५ मिनेट बसेका थिए ।

उनीहरूको दोस्रो जम्काभेट २४ मंसिर ०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन मञ्च भृकुटीमण्डपमा भयो । दुवै नेता आमने–सामने त भए, तर बोलचाल गरेका थिएनन् ।

ओली र नेपालबीचको पछिल्लो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओलीको निर्णायक ‘मुभ’मा प्रचण्डको नेतृत्वमा अलग्गै गठबन्धन सरकार बनेपछि नेपालले सकारात्मक रूपमै टिप्पणी गरेका छन् । नेपालसँगको भेटवार्तामा प्रचण्डले थप छलफलको प्रस्ताव राखेका छन् । 

तर, अन्तिम घडीसम्म कांग्रेससँगै गठबन्धन गरेर जाने पक्षमा उभिएका नेपाललाई मनाउन नसकिने देखिएपछि पछिल्लो गठबन्धन बनाउन सक्रिय एमालेका दोस्रो तहका नेताहरूले भने उनलाई मनाउने जिम्मा प्रचण्डलाई दिएका थिए । 


 

ad
ad