Skip This
मधेसमा जसपा र एमालेले आलोपालो नेतृत्व गर्ने सम्भावना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Saturday, 27 July, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७९ पौष ११ सोमबार १५:१८:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मधेसमा जसपा र एमालेले आलोपालो नेतृत्व गर्ने सम्भावना

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार १५:१८:oo

कांग्रेससँगको गठबन्धन टुटेसँगै मधेस प्रदेशमा सरकार निर्माणको समीकरण फेरिएको छ। एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि मधेसमा सरकार गठनका लागि दलीय समीकरण फेरिएको हो। 

तत्कालीन सत्तारूढ गठन्धन र एमालेसहितको गठबन्धनसँग मधेसमा सरकार गठनका लागि बहुमत थिएन। यद्यपि, कांग्रेस जसपा वा जनमतसँगको सहयोगमा सरकार बनाउनेमा विश्वस्त थियो। तर, आइतबार केन्द्रमा भएको सात दलको नयाँ गठबन्धनले कांग्रेसलाई संघदेखि सातवटै प्रदेशमा सत्ताबाट ‘आउट’ गरिदिएको छ।

मधेसमा २३ सिट ल्याएर एमाले सबैभन्दा ठूलो दल बनेको छ भने कांग्रेसले २२, जसपाले १६ र जनमत पार्टीले १३ सिट जितेको छ। लोसपासँग नाै, माओवादी केन्द्रसँग आठ र एकीकृत समाजवादीसँग सात तथा नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग एक–एक सिट छ। प्रदेशमा ६ जना स्वतन्त्र सांसद विजयी भएका छन्।

एक सय सात सिट रहेको मधेस प्रदेशमा सरकार बनाउन ५४ मत आवश्यक हुन्छ। संघीय सरकार गठनमा भएको सातदलीय समीकरणको हिसाबले एमालेसहितको गठबन्धनको ६२ सिट पुग्छ। अर्थात् मधेस प्रदेशमा सातदलीय गठबन्धनको सरकार निर्माण हुने करिब निश्चित छ। नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ केन्द्रमा सरकार बने पनि प्रदेशको विषयमा अहिलेसम्म प्रस्ट निर्णय नभएकाे बताउँछन्।

‘अहिलेसम्म हामी संघीय सरकार निर्माणमा जोड दिएर छलफलमा थियौँ। प्रदेशको विषयमा सामान्य छलफल मात्रै भएको हो। अब प्रदेशको विषयमा हाम्रो गबठन्धनका दलहरूबीच मूर्तरूप दिने गरी छलफल अघि बढ्छ,’ पार्टीका सचिवसमेत रहेका महासेठले भने, ‘एमाले र माओवादीबीच ४–३ को कुराकानी भएको हो। तर, गठबन्धनमै भएकाले जसपालाई पनि नेतृत्व दिएर अघि बढ्ने मोटामोटी छलफल भएको हो।’ उनका अनुसार एमालेले प्रदेश नम्बर १, लुम्बिनी र गण्डकीका साथै अर्को कुनै एउटा प्रदेशका दाबी गर्नेछ।

यता, माओवादी केन्द्रका मधेस प्रदेशका पूर्वअध्यक्ष प्रह्लाद बुढाथोकीले संघीय सरकारजस्तै प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्व लिने गरी सहमति भएको बताए। केन्द्रमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने र मधेस प्रदेशमा एमाले र जसपाले पाउने गरी सहमति भएको उनले बताए।

यद्यपि, प्रदेश सरकारको नेतृत्व एमाले र जसपामध्ये कसले पहिले पाउने भन्ने विषय अझै टुंगो लाग्न नसकेको बुढाथोकीले बताए। जसपाका एक नेताका अनुसार माओवादी अध्यक्ष प्रचण्डले जसपालाई मधेस प्रदेशको नेतृत्व दिने आश्वासन दिएपछि मात्रै जसपा सात दलीय गठबन्धनमा सहभागी भएको हो।