दुई छिमेकी मुलुक चीन र भारत जोड्ने उत्तर–दक्षिण लोकमार्गको भौतिक प्रगति कमजोर देखिएको छ । उत्तर र दक्षिणको सीमानाका जोड्ने तीनवटा लोकमार्ग कोसी, कालीगण्डकी र कर्णालीको निर्माणले लक्ष्यअनुसार गति लिन सकेको छैन । यसले गर्दा यी आयोजना तोकिएको समयमै निर्माण सम्पन्न गर्न कठिन हुने देखिएको छ ।
आर्थिक एवं रणनीतिक महत्वका तीन लोकमार्गको औसत भौतिक प्रगति भने ४३.४५ प्रतिशत पुगेको छ । सडक विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०७९–८० को प्रथम त्रैमासिक प्रतिवेदनअनुसार आयोजनाको औसत वित्तीय प्रगति भने ४२ प्रतिशत पुगेको छ ।
तीन करिडोरको निर्माणमा हालसम्म करिब २० अर्ब रुपैयाँ खर्च भइसकेको छ । कर्णाली, कालीगण्डकी र कोसी करिडोर बनाउन ५१ अर्ब ६० करोड रुपैयाँ खर्च लाग्ने सरकारको अनुमान छ, त्यसमा हालसम्म आउँदा १९ अर्ब ५० करोड खर्च भएको सडक विभागको पछिल्लो तथ्यांकले देखाएको छ ।
विभागका प्रवक्ता भीमार्जुन अधिकारीहरूले उत्तर–दक्षिण लोकमार्गहरूको प्रगति लक्ष्यअनुसार हुन नसकेको स्विकारे । तर, समग्र प्रगति भने सन्तोषजनक रहेको उनको दाबी छ ।‘उत्तर–दक्षिण लोकमार्गहरूको काम पनि अन्य आयोजनाजस्तै सामान्य रूपमा भइरहेको छ । सोचेअनुरूप खास प्रगति भने गर्न सकिएको छैन,’ उनले भने, ‘यद्यपि, आयोजनाहरूको समग्र प्रगति सन्तोषजनक छ ।’ तीन उत्तर–दक्षिण करिडोरमा कालीगण्डकी करिडोरको प्रगति उत्साहजनक देखिएको उनको भनाइ छ ।
नेपालले उत्तर–दक्षिण छिमेकी मुलुकको नाकालाई एकआपसमा जोड्ने गरी विभिन्न मितिमा कर्णाली, कालीगण्डकी र कोसी करिडोरलाई अघि बढाएको थियो । यी लोकमार्गलाई ‘नर्थ–साउद ट्रेड एन्ड ट्रान्जिट करिडोर’ नाम दिइएको छ । साथै, यी तीनै आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।
कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुंगा खण्ड)
चालू आवको असोज मसान्तसम्म आउँदा कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुंगा खण्ड)को भौतिक प्रगति ३८.६० प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ३५.८७ प्रतिशत पुगेको विभागको तथ्यांकमा उल्लेख छ । यस आयोजनामा हालसम्म सात अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ ।
यस खण्डको कुल लम्बाइ २४५ किलोमिटर रहेको छ, जुन सडकको ट्र्याक खुलिसकेको छ । साथै, हालसम्म ११३ किलोमिटर सडक कालोपत्रे भएको छ भने २५ वटा पुल निर्माण भइसकेको छ । योबाहेक १३ वटा पुल निर्माणको चरणमा रहेका छन् ।
नेपाल–भारत सीमादेखि नेपाल–चीन सीमाको कोरोला नाका जोड्ने उद्देश्यसहित कालीगण्डकी करिडोर आयोजना अघि बढाइएको हो । त्यसअन्तर्गतको गैँडाकोट–राम्दी–मालढुंगा खण्डको निर्माण ०६६–६७ बाट सुरु गरिएको थियो । यसमा २५ अर्ब २२ करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ । साथै, यो आयोजना आगामी आव ०८०–८१ मा निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य लिइएको छ । तर, तोकिएको अवधिमा निर्माण सम्पन्न हुन चुनौती हुने प्रगति विवरणले देखाएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गतको यस खण्डको भने हालसम्म ७२ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने ६९ प्रतिशत पुगेको विभागको तथ्यांकमा उल्लेख छ । रकमका आधारमा हालसम्म पाँच अर्ब ९५ करोड रुपैयाँ खर्च भएको विभागको भनाइ छ ।
यस सडकको कुल लम्बाइ २०२ किलोमिटर रहेको छ, जुन खण्डको ट्र्याक खुलिसकेको छ । साथै, त्यसमा १८८ किलोमिटर ग्राभेल, २८ किलोमिटर कालोपत्रे भएको छ । साथै, पाँचवटा पुलको निर्माण सम्पन्न भएको छ । योबाहेक थप १० वटा पुल निर्माणाधीन अवस्थामा छन् । यो करिडोरको निर्माण आव ०७३–७४ बाट सुरु गरिएको थियो । ६ अर्ब ७८ करोड रुपैयाँ लगानी अनुमान गरिएको यो आयोजनाको निर्माण चालू आवमै सम्पन्न गर्नुपर्ने म्याद छ । द्रुतगतिमा काम गरे चालू आवमा यसको निर्माण अन्तिम चरणमा पुग्न सक्ने बताइएको छ ।
कोसी करिडोर : १२ किमि ट्र्याक खोल्नै बाँकी
कुल १६२ किलोमिटर लामो हुने कोसी करिडोरको हालसम्म १५० किमि ट्र्याक खुलिसकेको छ । यसका अलावा ५५ किमि ग्राभेल र आठवटा पुल निर्माण सम्पन्न भएको छ । यसका अलावा बाँकी ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । साथै, दुईवटा पुल निर्माणको चरणमा रहेका छन् । हालसम्म आउँदा आयोजनाको समग्र भौतिक प्रगति ३८.६० प्रतिशत भएको छ । वित्तीय प्रगति भने ३५.८७ प्रतिशत अर्थात् चार अर्ब २८ करोड रहेको छ । आव ०६५–६६ मा निर्माण सुरु गरिएको यस आयोजनामा ११ अर्ब ९३ करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ । आव ०८३–८४ मा यसको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
कर्णाली करिडोर (हिल्सा–सिमिकोट) : ३१ प्रतिशत प्रगति
उत्तर–दक्षिण करिडोरमध्ये अर्काे महत्वपूर्ण आयोजना कर्णाली करिडोर हो । यसको दक्षिण खण्ड (नेपालगन्ज–सुर्खेत–खुलालु) प्रचलित राजमार्गमै समावेश भइसकेको छ । त्यसभन्दा माथि थप खुलालुबाट सिमकोट हुँदै हिल्सासम्म नयाँ सडक बनाइनेछ । त्यसमध्ये खुलालुबाट सिमकोटसम्म नेपाली सेनाले सडक निर्माण गर्दै छ ।
सिमकोटदेखि हिल्सासम्मको २६९ किलोमिटर सडकको निर्माण भने सडक विभागले गर्दै छ, त्यसमा हालसम्म २५६ किमि सडकको ट्र्याक खुलिसकेको छ । त्यसमध्ये १२३ किमि सडक नेपाली सेनाले खनेको थियो । समग्रमा आयोजनाको ३१.२० प्रतिशत भौतिक प्रगति रहेको छ ।
वित्तीय प्रगति भने ३१.४६ प्रतिशत अर्थात् एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । आव ०६९–७० देखि निर्माण सुरु गरिएको यो आयोजना ०८२–८३ सम्ममा सम्पन्न गर्नुपर्नेछ । यस आयोजनाको कुल चार अर्ब १० करोड लगानी अनुमान गरिएको छ ।