१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Friday, 21 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ४ सोमबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपतिको आह्वानसँगै सघन संवादमा एमाले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार o८:o१:oo

सत्तारूढ गठबन्धनभित्र शक्ति बाँडफाँडमा सहमति नभए नयाँ सरकार गठनको विकल्प दिने योजनासहित दोस्रो ठूलो दल एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सघन संवाद अघि बढाएको छ । राष्ट्रपति विद्या भण्डारीले सात दिनको समयसीमा दिएर दलहरूलाई सरकार गठनका लागि आह्वान गरेलगत्तै एमालेले पनि सत्तारूढ गठबन्धन सहमति जुटाउन असफल भए विकल्प दिने योजनासहित संवाद सुरु गरेको हो । 

उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा राजनीतिक अस्थिरता र शक्तिकेन्द्रहरूको चलखेल, राजनीतिमा बढ्दो विकृतिप्रति चिन्ता र चासोसहित आवश्यक पर्दा स्थिर सरकारको विकल्प दिने गरी सघन संवाद सुरु गरेको बताए । ‘सत्तागठबन्धनभित्र छलफल सुरु भएको छ । गठबन्धन कसरी जान्छ, त्यहाँ रहेका दलहरूले कोर्स परिवर्तन गर्छन् या अहिलेकै अवस्थामा अगाडि बढ्छन्, उहाँहरूभित्र देखिन थालेको बेमेलले कुन रूप लिन्छ, ती सबै कुरालाई हेरेर मात्र हामी आवश्यक रणनीति बनाउँछौँ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘अहिले देखिएको अस्थिरताको चुनौतीका विषयमा हामी सघन संवादमै छौँ । यस सन्दर्भमा मुलुकलाई निकास दिनका लागि आवश्यकताअनुसार एमालेले अग्रसरता पनि लिनेछ ।’

राष्ट्रपतिले स्वाभाविक संवैधानिक प्रक्रियाअनुसार सरकार गठनको आह्वान गर्नुलाई पार्टीले सकारात्मक रूपमा लिएको भन्दै उनले एमालेले अस्थिरता, बढ्दो राजनीतिक विकृति, वैदेशिक चलखेलगायत विषयमाथि केन्द्रित रहेर दलहरूसँग छलफल अगाडि बढाएको पनि बताए ।

ad
ad
ad
ad