फुटबल विश्वमै सबैभन्दा धेरै रुचाइने खेल हो। त्यसमा पनि विश्वकप फाुटबल सबैभन्दा धेरै हेरिने प्रतियोगिता। यो प्रतियोगिताको फाइनल खेल अबको दुई घण्टापछि सुरु हुँदै छ।
फुटबलको सर्वोत्कृष्ट उपाधिको भिडन्तमा यसपटक अर्जेन्टिना र फ्रान्स आमनेसामने छन्। कतारको दोहास्थित लुसेल मैदानमा दुवैको लक्ष्य एउटै छ, तेस्रोपटक उपाधि उचाल्ने।
यी दुवै राष्ट्रले यसअघि दुई–दुईपटक विश्वकप फुटबलको उपाधि जितेका छन्। यो खेल संसारभरका करोडौँ फुटबल प्रेमीले हेर्नेछन्। यतिवेला संसारको ध्यान लुसेल रंगशालाले खिचिरहेको छ।
फिफा विश्वकप २०२२ को उपाधि कसले जित्ला भन्ने ? यो अहिले नै भन्न सकिने होइन। तर, संसारका अधिकांश खेलप्रेमी अर्जेन्टिनाले जितोस् भन्ने पक्षमा देखिएका छन्। यसको एउटै कारण हो, लियोनल मेसी।
मेसी फुटबलका सर्वकालीन महान् खेलाडी हुन् भन्नेमा द्विविधा छैन। क्लब फुटबलमा त्यस्तो कुनै उपाधि छैन, जुन उनले जित्न बाँकी होस्। क्लब फुटबलमा एकपटक होइन, पटक-पटक उपाधि जितेका छन्। तर, उनीसँग छैन भने यही एउटा ‘विश्वकप ट्रफी’। त्यसैले संसारभरका फुटबल प्रेमी यी महान् खेलाडी यो अवसरबाट वञ्चित नहुन् भन्ने पक्षमा देखिन्छन्।
मेसी दोस्रोपटक उपाधिनजिक पुगेका छन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनी नेतृत्वको अर्जेन्टिनाले जर्मनीसँग उपाधिका लागि भिडेको थियो। तर, त्यहाँ उनी अभागी साबित भए। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मेसीले फाइनलमा गोल गर्न सकेनन्, न उनका अरू सहकर्मीले। थपिएको समयको ११५औँ मिनेटमा मारियो गोट्जेको एक मात्र गोलले उनको हातबाट उपाधि खोसिदियो।
यसपटक न मेसी त्यो इतिहास दोहोर्याउन चाहन्छन्, न अधिकांश फुटबल प्रेमी त्यो अवस्थाको कल्पनामा छन्। तर, मेसीका अगाडि फ्रान्स बलियो चुनौती बनेर उभिएको छ।