१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष २ शनिबार ०६:१४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष २ शनिबार ०६:१४:००

मोरक्को र क्रोएसिया शनिबार कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि भिड्दै छन् । विश्वकपमा सनसनीपूर्ण नतिजाका साथ सेमिफाइनलमा पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै तेस्रो स्थानको प्ले अफ खेल्नुपरेको हो । विश्वकपमा पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को अन्तिम चारमा पुगेको थियो । अर्कोतिर, सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग पराजित भयो । यो नतिजासँगै क्रोएसियाको लगातार दोस्रोपटक फाइनल खेल्ने योजना भताभुंग भयो । खलिफा अन्तर्राष्ट्रिय मैदानमा मोरक्को र क्रोएसिया तेस्रो स्थान हात पार्दै विश्वकप समाप्त गर्न चाहन्छन् । 

सन् २०१८ को फाइनलमा उपविजेता भएको क्रोएसिया चार वर्षपछि तेस्रो स्थानका लागि खेल्दै छ । लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया फाइनलमा नपुगेपनि तेस्रो स्थान हासिल गर्न चाहन्छ । सन् १९९८ मा पहिलोपटक क्रोएसियाले तेस्रो स्थानको प्ले अफ खेलेको थियो । त्यसवेला क्रोएसिया नेदरल्यान्ड्ससँग २–१ ले पराजित भएको थियो ।

उत्तर अफ्रिकन टोली मोरक्को फिफा विश्वकपको कसैले नसोचेको नतिजा निकाल्न सफल भएको छ । सेमिफाइनलबाहेक अन्य कुनै पनि खेलमा मोरक्कोको पोस्टमा विपक्षी खेलाडीले गोल गर्न सकेका थिएनन् । मोरक्कोको बलियो रक्षापंक्ति फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले तोडे । हर्नान्डेज र मुआनीको गोलसँगै वालिद रेग्रगुईको प्रशिक्षणमा रहेको मोरक्को पहिलोपटक विश्वकप फाइनल खेल्ने सपनाबाट वञ्चित भयो ।

मोरक्कोले प्रतियोगितामा पाँच ‘क्लिन सिट’ राखेको छ । अर्जेन्टिनाविरुद्ध खेल्दा क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिक घाइते भएका थिए । उनी खेल्ने वा नखेल्नेमा द्विविधा छ । यसैगरी, रक्षक जोस्को भार्डिओस, बोर्ना सोसालगायत खेलाडीसमेत घाइते छन् । कप्तान मोड्रिकसहित माथेओ कोभासिच र गोलरक्षक डोमिनिक लिभाकोभिचको उत्कृष्ट प्रदर्शनले क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिकलाई केही सहज हुनेछ ।  

मोरक्कोका कप्तान रोमाइन साइस र बायर्न म्युनिखका नोउसाइर सेमिफाइनलमा घाइते भएका थिए । तेस्रो स्थानको खेलमा उनी खेल्ने वा नखेल्ने निश्चित छैन । केही घाइते खेलाडीका बाबजुद प्रशिक्षक वालिद अन्य खेलाडीका भरमा क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन् । दुईबीचको पहिलो भेट सन् १९९६ मा भएको थियो । 

निर्धारित समय २–२ को बराबरी सकिँदा खेल पेनाल्टी सुटआउटमा क्रोएसियाले जितेको हो । जुन खेलमा तीन रातो कार्ड देखाइएको थियो । यसै विश्वकपको समूह चरणमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । 

प्लेयर्स टु वाच

लुका मोड्रिक (क्रोएसिया)

क्रोएसियाले लगातार दोस्रोपटक सेमिफाइनलको यात्रा तय गर्दा कप्तान लुका मोड्रिकको प्रदर्शन एकनासको रह्यो । अग्रपंक्ति बलियो नहुँदा मोड्रिक टोलीको ‘गेम चेन्जर’ रहे । मोड्रिकले काउन्टर अट्याकमा होस् वा बक्स टु बक्स खेल्दै टोलीलाई सहज अवस्थामा ल्याएका थिए । सेमिफाइनलसम्मको यात्रामा मोड्रिक सबै खेलमा ‘प्लेइङ सेट’मै रहे । स्पेनिस क्लब रियल म्याड्रिडका ३७ वर्षीय मिडफिल्डर विश्व फुटबलको लिजेन्डसमेत हुन् । जारी विश्वकपमा मोड्रिक गोलविहीन रहे पनि विपक्षी क्षेत्रमा घातक रहँदै आएका छन् । 

हाकिम जिएच (मोरक्को)

उत्तर अफ्रिकन राष्ट्रका मोरक्कोले पहिलोपटक सेमिफाइनल पुग्दा स्ट्राइकर हाकिम जिएचको प्रदर्शन उत्कृष्ट रह्यो । कुनै समय सन्न्यास घोषणा गरे पनि विश्वकपमा लागि हाकिम टोलीमा फर्किएका थिए । जारी विश्वकपमा एक गोल गरेका छन् । व्यावसायिक फुटबलका लागि चेल्सीमा आबद्ध रहेका हाकिमले कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सन् २०१५ मा मोरक्कोको सिनियर टोलीबाट खेलेका हाकिम जिएचले ४९ खेलमा १९ गोल गरेका छन् ।