मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर २८ बुधबार ०८:०४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फ्रान्सलाई मोरक्कोको बलियो रक्षापंक्तिको डर

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २८ बुधबार ०८:०४:००

अफ्रिकन टोली मोरक्को पहिलोपटक विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा उच्च मनोबलका साथ साबिक विजेता फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा इतिहास रचेको मोरक्कोको रक्षापंक्ति कुनै पनि टोलीले तोड्न सकेका छैनन् । पहिलो चरणदेखि क्वार्टरफाइनलसम्म मोरक्कोले रक्षात्मक खेललाई प्राथमिकतामा राखेको छ । साथै, प्राप्त अवसरमा मोरक्कोले आक्रामक खेललाई निरन्तरता दिँदा विपक्षी दबाबमा रहेको देखिन्छ । 

२२औँ विश्वकपमा सहभागीमध्ये सर्वाधिक बलियो रक्षापंक्ति टोलीविरुद्ध उत्कृष्ट फर्ममा रहेको फ्रान्सले सहज रूपमा लिनेछैन । बुधबार बिहान फ्रान्सले दोस्रो सेमिफाइनलमा मोरक्कोविरुद्ध प्रतिस्पर्धा गर्दा गल्ती नगर्ने लक्ष्य राखेको छ । दोहाको अल बायत मैदानमा हुने खेलमा मोरक्को र फ्रान्स दुवै कीर्तिमान रच्न चाहन्छन् । फ्रान्सले लगातार दोस्रो र समग्रमा तेस्रोपटक विजेता बन्ने लक्ष्य राखेको छ । मोरक्को भने पहिलोपटक फाइनल स्थान बनाउने योजनामा छ । उत्तर अफ्रिकन टोली मोरक्को फ्रान्सको आक्रामक खेललाई स्तब्ध बनाउने रणनीतिका साथ अगाडि बढ्नेछ । 

प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलमा मोरक्कोले रक्षात्मक खेलमै सफलता चुम्यो । सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा क्रोएसियालाई ४–१ ले पराजित गर्दै फ्रान्स दोस्रोपटक च्याम्पियन बनेको थियो । फ्रान्स पहिलोपटक सन् १९९८ मा विश्व च्याम्पियन बनेको थियो । मोरक्कोविरुद्ध फ्रान्सलाई कुनै खेलाडीको चोट समस्या हुनेछैन । यसैगरी, फ्रान्सेली टोलीमा कुनै कार्डको समस्या छैन । कुनै पनि खेलाडीले लगातार खेलमा पहेँलो कार्ड पाएका छैनन् । 

फ्रान्स र मोरक्को पहिलोपटक फिफा विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । सन् १९६७ मा भएको पहिलो भेटमा फ्रान्स २–० ले विजयी भएको थियो । सन् २००७ मा सम्पन्न एक मैत्रीपूर्ण खेलमा मोरक्को र फ्रान्सले २–२ को बराबरी खेलेका थिए । सन् २००० मा फ्रान्सले मोरक्कोलाई ५–१ ले हराएको थियो ।