१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ मङ्सिर २७ मंगलबार १७:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा ५८ उम्मेदवारको धरौटी जफत

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ मङ्सिर २७ मंगलबार १७:२६:००

४ मंसिरमा सम्पन्न निर्वाचनमा कञ्चनपुरका ५८ उम्मेदवारको धरौटी जफत भएको छ। प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका ५८ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए। महराका अनुसार प्रतिनिधिसभातर्फ २५ र प्रदेश सभातर्फ ३३ उम्मेदवारको धरौटी जफत भएको हो। ‘सम्बन्धित निर्वाचन क्षेत्रमा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटीबापतको रकम जफत हुन्छ,’ सूचना अधिकारी महराले भने।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल ६० हजार १४० सदर मतमध्ये ६ हजार १४ मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको हो। यस क्षेत्रमा राप्रपाका दिल्लीबहादुर शाही, नेपाल मजदुर किसान पार्टीकी नन्दादेवी जोशी, लोसपाका रामकिशन राना, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशी, स्वतन्त्र उम्मेदवारहरू खेम सुवेदी, जगतबहादुर सायर, हरिनादेवी भट्टको धरौटी जफत भएको छ।

यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं २ मा कुल ५९ हजार ९१६ सदर मतमध्ये ५ हजार ९९१ मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको छ। उक्त क्षेत्रमा जनमतका प्रेमसिंह बडाल, राप्रपाका अशोकबहादुर सिंह, नेमकिपाका सीताराम राना, लोसपाका लोकराज भट्ट, हाम्रो नेपाली पार्टीका जगदीश अवस्थी, जनता प्रगतिशील पार्टीकी विद्यादेवी जोशी, नेपाली कांग्रेस बिपीका वीरबहादुर बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टीका झकरराज जोशीको जमानत जफत भएको छ।

प्रतिनिधिसभा क्षेत्र नं ३ तर्फ कुल ५४ हजार १५७ सदर मतमध्ये ५ हजार ४१५ मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको छ। उक्त क्षेत्रमा नेमकिपाका जानकीदेवी गिरी, लोसपाका अम्बादत्त तिवारी, जनमतकी शुशीलादेवी विष्ट, मौलिक जरोकिलोका तिलकप्रसाद जोशी, हाम्रो नेपाली पार्टीका दुर्गादत्त पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहार तथा स्वतन्त्र उम्मेदवारहरू दीपकबहादुर सिंह, मदन दमाईं, शारदा चन्द र सुभाससिंह धामीको धरौटी जफत भएको छ।

जिल्लाका ६ प्रादेशिक निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्यतर्फ ३३ उम्मेदवारको धरौटी जफत भएको छ। यति धेरै उम्मेदवारको धरौटी नै जफत हुने अवस्था गम्भीर भएको भन्दै उक्त विषयमा स्वयं उम्मेदवार र पार्टीले समीक्षा गर्नुपर्ने राजनीतिक जानकारहरूको भनाइ छ। कञ्चनपुरमा प्रतिनिधिसभा सदस्यतर्फ ३ सिटका लागि ३० र ६ सिटका लागि ५० उम्मेदवार चुनावी मैदानमा होमिएका थिए। तीन लाख २ हजार ५०९ कुल मतदातामध्ये एक लाख ८६ हजार ३२२ ले मतदान गरेको थिए।