
कतार विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नयाँ बल प्रयोग हुने भएको छ । फिफाले सेमिफाइनल र फाइनलमा ‘अल हिल्म’ नामको बल खेलाउने भएको हो । विश्वकपका लागि फिफाले एडिडाससँग सम्झौता गरेको छ । सम्झौताअनुसारै पहिलो चरणदेखि क्वार्टरफाइनलसम्म ‘अल रिहला’ नामको बल प्रयोग भएको थियो । फिफा र एडिडासले आइतबार एक कार्यक्रमबीच अल रिहला नामको बल सार्वजनिक गरेको छ ।
अरबी भाषामा अल रिहलाको अर्थ यात्रा हो । यसैगरी, अल हिल्मको अर्थ सपना हो । सेमिफाइनलमा खेलाउने बलमा पनि सेन्सर राखिएको छ । यसमा कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ । कनेक्टेड बलको सहयोगमा रेफ्रीलाई निर्णय लिन निकै मद्दत गरेको आयोजकको भनाइ छ ।
अल हिल्म बलको डिजाइन सुनौलो रङको छ । बलमा त्रिकोणात्मक आकारमा दोहा र वरपरको मरुभूमि देखाइएको छ । फिफा, विश्वकप र कतारको राष्ट्रिय झन्डाको स्वरूप बलमा रङ प्रयोग गरिएको छ ।
सेमिफाइनल खेल मंगलबार र बुधबार हुनेछन् । मंगलबार राति १२:४५ मा पहिलो सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । दोस्रो सेमिफाइनल बुधबार राति १२:४५ मा सबिक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ ।